
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले हमासबाट हत्या गरिएका नेपाली युवक विपिन जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै पनि नबिर्सने बताउनु भएको छ।
प्रधानमन्त्री कार्कीले बन्धकमुक्त हुने दुई वर्षदेखिको आशा र सामूहिक प्रार्थनाबीच विपिनको मृत्युको खबर सुन्दा आफू स्तब्ध भएको बताउनु भएको छ ।
‘यो हृदयविदारक समाचारले हामी सबैलाई गहिरो पीडा दिएको छ । म यस कठिन घडीमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु र शोकाकुल परिवारजन र आफन्तहरूमा गहिरो समवेदना व्यक्त गर्दछु,’ प्रधानमन्त्री कार्कीले भन्नु भएको छ ।
साथै, उहाँले विपिन विद्यार्थी मात्रै नभइ ज्ञानको खोजीमा विदेशिएका हजारौं नेपाली युवाको उज्ज्वल प्रतिनिधि समेत भएको बताउनु भएको छ ।
‘विपिन जोशी केवल एक विद्यार्थी मात्र हुनुहुन्नथ्यो; उहाँ ज्ञानको खोजीमा विदेशिनुभएका हजारौं नेपाली युवाको उज्ज्वल प्रतिनिधि हुनुहुन्थ्यो । उहाँको जीवन उत्साह, लगनशीलता र अरूलाई सहयोग गर्ने विनम्र स्वभावले भरिएको थियो,’ प्रधानमन्त्री कार्कीले भन्नु भएको छ ।
विपिन अन्तर्राष्ट्रिय द्वन्द्वको अमानवीय सिकार बन्न पुगेको पनि बताउनु भएको छ ।
‘सदा शान्ति पक्षधर नेपालको छोरा अन्तर्राष्ट्रिय द्वन्द्वको अमानवीय सिकार बन्नुभएको छ,’ प्रधानमन्त्री कार्कीले भन्नु भएको छ ।
‘उहाँको निधनको यो खबरले हाम्रा दुई वर्षका सम्पूर्ण आशा र सपनाहरूलाई छिन्नभिन्न पारेको छ,’ उहाँले भन्नु भएको छ, ‘उहाँको यो वीरतापूर्ण कार्य उहाँको जीवनको सबैभन्दा ठूलो विरासत हो, जसले उहाँलाई सधै नेपाली गौरवको प्रतीक का रूपमा जीवित राख्नेछ ।’