२०८२ असोज २९, बुधवार , १०:२८:४९ बजे

Sajhamanch
'

दुई महिनामा साढे तीन खर्ब रेमिट्यान्स भित्रियो

बुधवार, असोज २९, २०८२

काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को शुरूआती दुई महिनामा साढे तीन खर्बभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो महिनाको तथ्याङ्कमा आधारित देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार गएको भदौ मसान्तसम्म रेमिट्यान्स आप्रवाह ३३.१ प्रतिशतले वृद्धि भएको र तीन खर्ब ५२ अर्ब आठ करोड रुपैयाँ पुगेको हो । भदौ महिनामा मात्रै एक खर्ब ७४ अर्ब ६७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

गएको साउन र भदौ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या ९० हजार १९८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४५ हजार ८८४ रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.८७ प्रतिशत रहेको छ ।

यस्तै चालू आर्थिक वर्षको भदौ मसान्तसम्ममा चालू खाता र शोधनान्तर स्थिति बचतमा देखिएको छ । यस अवधिमा चालू खाता एक खर्ब ३० अर्ब ६९ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको त्यहि अवधिमा चालू खाता ५४ अर्ब ४१ करोड रुपैयाँले बचतमा रहेको थियो ।

सम्बन्धित खबर