
झापा । चीनले अमेरिकामाथि व्यापार तनाव बढाएको आरोप लगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमा लगाएको पछिल्लो करलाई चीनले पाखण्डी भन्दै दुर्लभ खनिज तत्व र उपकरणको निर्यातमा लगाइएको प्रतिबन्धको बचाउ गरेको समाचार संस्था रोयटर्सले जनाएको छ । यद्दपि अमेरिकी उत्पादनहरूमा नयाँ कर लगाउनबाट भने चीन पछि हटेको खबरमा उल्लेख छ ।
चीनको पछिल्लो निर्यात प्रतिबन्धको जवाफमा अस्ति शुक्रवार राष्ट्रपति ट्रम्पले नोभेम्बर १ सम्ममा चीनबाट अमेरिका भित्रिने सामानमा १०० प्रतिशत थप भन्सार शुल्क लगाउनुका साथै महत्त्वपूर्ण सफ्टवेयरमा नयाँ निर्यात नियन्त्रणहरू लगाउनुभएको थियो ।
यस्तै ट्रम्पले यस महिनाको अन्त्यतिर दक्षिण कोरियामा हुने एशिया–प्यासिफिक आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको प्रस्तावित भेटबाट पछि हट्ने धम्की पनि दिनुभएको छ ।
आज चीनको वाणिज्य मन्त्रालयले ट्रम्पको कर धम्कीलाई ‘दोहोरो मापदण्डको स्पष्ट उदाहरण’ भन्दै कडा प्रतिक्रिया जनाएको हो । मन्त्रालयले अमेरिकाले सेप्टेम्बरदेखि नै चीनविरुद्ध आर्थिक दबावका कदमहरू चालेको स्मरण गराउँदै हरेक पटक उच्च करको धम्की दिनु चीनसँग व्यवहार गर्ने सही उपाय नभएको बताएको छ ।
दुर्लभ खनिज तत्वहरू दुई महाशक्तिबीचको भर्खरैको व्यापार वार्ताको प्रमुख विवाद बनेका छन् । यी तत्त्वहरू स्मार्टफोन, विद्युतीय गाडी, सैन्य उपकरणदेखि लिएर नवीकरणीय ऊर्जा प्रविधिसम्मका उत्पादनमा अत्यावश्यक छन् । चीनले यस्ता खनिजहरूको विश्वव्यापी उत्पादन र प्रशोधनमा प्रभुत्व जमाइरहेको छ ।
गएको बिहीवार चीनले महत्त्वपूर्ण खनिजहरूको उत्खनन र प्रशोधनका लागि प्रयोग हुने प्रविधिमा नयाँ निर्यात प्रतिबन्ध घोषणा गरेको थियो ।
यस्तै गएको शुक्रवार चीनले ‘रक्षात्मक कदम’ भन्दै अमेरिकामा सञ्चालित र निर्मित जहाजहरूमा ‘विशेष बन्दरगाह शुल्क’ लागू गर्ने घोषणा गरेको थियो । चीनले यसलाई कदम अमेरिकाले आफ्ना जहाजहरूमा लगाएको बन्दरगाह शुल्कको प्रतिकारका रूपमा लिएको बताएको छ ।