
झापा । इजरायल सरकारले हमाससँग युद्धविराम गर्ने र बन्धकहरू मुक्त गर्ने योजना स्वीकृत गरेको छ ।
हिजो बसेको इजरायली मन्त्रीपरिषद्को बैठकले गाजा युद्धविराम र बन्धकहरु छाड्ने योजना स्वीकृत गरेको इजरायली प्रधानमन्त्री बेन्ज्यामिन नेतन्याहूको कार्यालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
हिजो नै इजिप्टमा इजरायल र हमासबीच सम्झौताको पहिलो चरणमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार पहिलो चरणमा दुबै पक्षले युद्धविराममा सहमति जनाएका छन् ।
साथै हमासले कब्जामा रहेका इजरायली बन्धकहरूलाई क्रमशः रिहा गर्नेछ भने इजरायलले पनि सयौं प्यालेस्टिनी कैदीहरूलाई मुक्त गर्ने तयारी गरेको खबरमा उल्लेख छ ।
यसै क्रममा इसरायली सैनिकहरू गाजाको केही भागबाट फिर्ता हुने र दैनिक सयौं ट्रक मानवीय सहायता लिएर गाजा प्रवेश गर्ने व्यवस्था पनि सम्झौतामा समावेश गरिएको छ ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत इजरायली बन्धकहरू आउँदो सोमवार वा मङ्गलबारसम्म फर्कने बताउनुभएको छ । ट्रम्पका अनुसार यो सम्झौता अमेरिका, इजिप्ट र कतारका मध्यस्थकर्ताको प्रयासबाट सम्भव भएको हो ।
सम्झौताको कार्यान्वयनका विषयमा छलफल गर्न अमेरिकी राष्ट्रपति ट्रम्पका मध्यपूर्व दूत स्टिभ विटकोफ समेत इजरायली मन्त्रीपरिषद्को बैठकमा उपस्थित हुनुभएको थियो ।
इजरायल र हमासबीचको यो प्रारम्भिक सहमति मध्यपूर्वमा स्थायी शान्तिको दिशामा पहिलो ठोस कदमका रूपमा हेरिएको छ । तर आउँदा दिनमा दुबै पक्षले कस्तो व्यवहार देखाउँछन् भन्ने कुराले मात्र सम्झौताले दीर्घकालीन स्थायित्व पाउने कि नपाउने भन्ने विश्लेषण भईरहेका छन् ।