
झापा । संयुक्त राष्ट्रसङ्घले विश्वव्यापी रूपमा एक चौथाइ शान्ति सेना कटौती गर्ने भएको छ । आर्थिक अभावका कारण र अमेरिकाबाट भविष्यमा प्राप्त हुने कोष अनिश्चित रहेकाले आउँदा महिनाहरूमा विश्वभरका ९ वटा अभियानमा एक चौथाइ शान्ति सेना कटौती गर्ने संयुक्त राष्ट्रसङ्घका वरिष्ठ अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।
राष्ट्रसङ्घका अधिकारीहरूका अनुसार कूल शान्ति सेना र प्रहरीको झन्डै २५ प्रतिशतलाई स्वदेश फिर्ता गर्नुपर्नेछ । साथै तिनीहरूका उपकरणहरू र ठूलो सङ्ख्यामा नागरिक कर्मचारीहरू पनि प्रभावित हुने खबरमा उल्लेख छ । १३ हजारदेखि १४ हजारको सङ्ख्यामा सेना र प्रहरी कटौती हुने अधिकारीहरूको भनाइ छ ।
संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापनामा सबैभन्दा ठूलो योगदानकर्ता अमेरिका हो । अमेरिकाले २६ प्रतिशतभन्दा धेरै कोष प्रदान गर्दछ, त्यसपछि चीनले झन्डै २४ प्रतिशत भुक्तानी गर्दछ । यी भुक्तानीहरू स्वैच्छिक होइनन् ।
गएको जुलाई १ मा नयाँ आर्थिक वर्ष शुरू हुनुभन्दा अगाडि नै अमेरिकाले १ अर्ब ५० करोड डलर तिर्न बाँकी रहेको संयुक्त राष्ट्रसङ्घका एक अर्का अधिकारीले बताएका छन् । अमेरिकाले अब थप १ अर्ब ३० करोड डलर तिर्न बाँकी छ, यसले गर्दा अमेरिकाले कुल तिर्न बाँकी रकम २ अर्ब ८० करोड डलरभन्दा धेरै पुगेको छ ।
यसैबीच अमेरिकाले चाँडै नै ६८ करोड डलर भुक्तानी गर्ने बताएको राष्ट्रसङ्घका अधिकारीले बताएका छन् ।