२०८२ असोज २३, बिहिवार , ०१:२१:४७ बजे

Sajhamanch
'

असोज १७ पछिको विपदमा परेर ज्यान गुमाउनेको सङ्ख्या ५३ पुग्यो

बिहिवार, असोज २३, २०८२

काठमाडौं । गएको असोज १७ गतेपछिको मनसुनी विपदमा परी ज्यान गुमाउनेको सङ्ख्या ५३ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजोसम्ममा ज्यान गुमाउनेको सङ्ख्या ५३ पुगेको जनाएको छ ।

प्राधिकरणकी प्रवक्ता शान्ति महतले पहिरोमा परेर ४० जना, बाढीबाट ११ जना र चट्याङबाट दुई जनाको ज्यान गएको जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोबाट इलाममा मात्रै ३८ जनाको ज्यान गएको छ ।

यस्तै, पाँचथर र काभ्रेमा एक–एक जनाले पहिरोबाट ज्यान गुमाएका छन् । बाढीबाट ज्यान गुमाउने ११ जनामध्ये उदयपुर र धनुषामा दुई–दुई तथा इलाम, पाँचथर, खोटाङ भोजपुर, मोरङ, सुनसरी र रौतहटमा एक–एक जना रहेका छन् । प्रवक्ता महतले बाढीबाट रसुवामा चार र इलाममा एक गरी पाँच जना बेपत्ता भएका पनि जानकारी दिनुभयो ।

यस्तै, मनसुनी विपद्मा परेर ४७ जना घाइते भएका छन् । घाइतेमध्ये पहिरोमा परेर ३३ र चट्याङबाट १४ जना रहेका प्राधिकरणले सार्वजनिक गरेको अध्यावधिक मनसुनी घटना विवरणमा उल्लेख छ ।

प्राधिकरणले अस्थायी आवास, पुनःस्थापन र राहत प्रक्रियाकाबारेमा छलफल शुरु भइसकेको जनाएको छ । मनसुनी विपद्मा ५० जिल्ला प्रभावित भएका छन् ।

सम्बन्धित खबर