
काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी र पहिरोले देशका विभिन्न राजमार्ग र सडकहरू अवरुद्ध भएका छन् ।
आज बिहान ८ बजेसम्मको जानकारी अनुसार देशभरका ९ ठाउँका सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएका छन् भने तीनवटा सडकखण्ड एकतर्फी रुपमा मात्रै सञ्चालन भएका छन् ।
प्रहरीका अनुसार कोशी राजमार्गअन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका-४ बरुण र मकालु गाउँपालिका-एकुवामा सडक अवरुद्ध भएको छ ।
बाढीले इलामको मेची राजमार्ग अन्तर्गत रहेका इलाम नगरपालिका-९ राजदुवालीलगायतका स्थानहरू पूर्ण रुपमा अवरूद्ध भएको छ भने पाँचथरको तमोर करिडोर अन्तर्गत रहेका पाँचथर तुम्वेवा गाउँपालिकाको नावाखोला सडक पूर्णरुपमा बन्द रहेको प्रहरीले जनाएको छ ।
यस्तै बागमती प्रदेशअन्तर्गत रसुवाको गोसाइकुन्ड गाउँपालिका-२ स्थित पासाङ ल्हामु सडकखण्ड पूर्ण रुपमा अवरूद्ध रहेको छ ।
यस्तै, पहिरोले बीपी रागममार्ग अन्तर्गत रहेको काभ्रेको रोशी खोला गाउँपालिका-११ माम्तीखोला, डालाबेसी, बुल्ढुंगा, बाँझोखेतलगायतका स्थानहरूको सडक पूर्ण रुपमा बन्द रहेको छ भने बीपी राजमार्ग अन्तर्गत नै रहेको सिन्धुलीको सुनकोशी गाउँपालिका-१ नेपालथोक सडक अवरूद्ध भएको छ ।
यसैगरी कर्णाली प्रदेश अन्तर्गत रहेका हुम्लाको कर्णाली करिडोरको खर्पुनाथ गाउँपालिका-५ कुरिल्ला सडक र कालिकोटको पचाल झरना गाउँपालिका-८ जुगेनी खोलामा रहेको सडक पूर्ण रूपमा अवरूद्ध रहेको छ ।
यता, कोशी लोकमार्ग अन्तर्गत रहेको साँगुरीगढी गाउँपालिका-१स्थित चनौटे, ६ घण्टे र सिमसुवागरी तीन ठाउँमा एकतर्फी रूपमा सडक सञ्चालनमा आएको छ ।
यसैगरी बागमती प्रदेश अन्तर्गत मकवानपुरको कान्तिलोकपथ सडकका भिमफेदी गाउँपालिका-८ वगुवा खोला र बकैया गाउँपालिका-११ घटेपाखा सडक एकतर्फी रुपमा सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ ।
हेर्नुहोस् अवरोध भएका राजमार्ग र सडकको विवरण :