
काठमाडौं । आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोटको आफ्नो पहिलो खेलमा नेपालले कुवेतलाई हराएको छ । नेपालले कुवेतलाई ५८ रनले हराएको हो ।
नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको कुवेत १८ ओभर एक बलमा ८३ रनमा अलआउट भयो । कुवेतका क्लिन्टो एन्टोले २६ र यासिन इशाक पटेलले १९ रन बनाए ।
नेपालका कप्तान रोहितकुमार पौडेल, सन्दीप लामिछाने र ललित राजवंशीले समान दुई तथा सोमपाल कामी, नन्दन यादव र कुशल भुर्तेलले समान एक विकेट लिए ।
त्यसअघि ओमानमा टस हारेर ब्याटिङ गरेको नेपालले सात विकेट गुमाएर एक सय ४१ रन बनाएको थियो । नेपालका कुशल भुर्तेलले ६६ तथा दीपेन्द्रसिंह ऐरी र गुल्शन झाले समान २० रन बनाए । कुवेतका नवीनराज राजेन्द्रन र अनुदीप चेन्थमाराले समान दुई तथा मोहम्मद अकिफ फारुक र मोहम्मद असलमले समान एक विकेट लिए ।
यो जीतसँगै समूह ‘बी’मा रहेको नेपालले महत्त्वपूर्ण दुई अङ्क जोडेको छ । अब नेपालले भोलि जापानसँग खेल्नेछ । समूहको शीर्ष दुईमा रहने टोली सुपर–सिक्समा पुग्नेछ । सुपर–सिक्समा छ टोलीमध्ये शीर्ष तीनमा पर्ने टोलीले आउँदो वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् ।