२०८२ असोज १२, आइतवार , ०३:०१:१९ बजे

Sajhamanch
'

मिचाहा झारले मासिँदै जलथलको जैविक विविधता

आइतवार, असोज १२, २०८२

झापा । चारकोसे झाडीका रुपमा चिनिएको दक्षिणपूर्वी झापाको जलथल जङ्गलमा मिचाहा प्रजातिको झार फैलिएका कारण रैथाने प्रजातिका वनस्पति लोप हुँदै गएका छन् ।

जैविक विविधताले भरिपूर्ण जलथल जङ्गल नेपालकै होचो भूभाग रहेको कचनकबलदेखि हल्दिबारी र बाह्रदशी गरी तीन गाउँपालिका र भद्रपुर नगरपालिकासम्म करिब छ हजार हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

फरेन एक्सन नेपालका विज्ञ डा. लीलानाथ शर्माका अनुसार जलथल जङ्गल नेपालको मात्र नभएर दुर्लभ वनस्पति, झार र बुट्यान रहेका कारण दक्षिण एसियाकै नमुना प्राकृतिक वन हो । यहाँ ४५० भन्दाबढी प्रजातिका वनस्पति छन् भने २०० भन्दाबढी प्रजातिका चराको बासस्थान छ । उहाँका अनुसार १४० भन्दा बढी प्रजातिका रुख भेटिएका छन् ।

“जनावरहरुमा सबैभन्दा ठूलो हात्तीदेखि सबैभन्दा सानो मुसे मृग जलथलमा अस्तित्वमा रहेको छ”, अनुसन्धातासमेत रहेका शर्मा भन्नुहुन्छ, “रुख र चरा मात्र होइन, यहाँको सिमसारमा ४० भन्दाबढी प्रजातिका माछा पाइएका छन् ।”

बनस्पति प्रजातीय विविधता र समिश्रणका दृष्टिले जलथलको वन नेपालका अरु जङ्गलभन्दा पृथक रहेको उहाँको भनाइ छ । डा. शर्माले एक दशकभन्दा बढी अनुसन्धान गरेर जलथल जङ्गलको जैविक विविधताबारेमा पुस्तक लेख्नुभएको छ भने अन्तरराष्ट्रिय जर्नलहरुमा उहाँका खोजमूलक लेख प्रकाशित छन् ।

नेपालमा हालसम्म अभिलेख नभएका छ प्रजातिका रुख यस जङ्गलमा भेटिएको जनाउँदै उहाँले पहाड र चुरे क्षेत्रमा मात्र पाइने ठानिएका वनस्पति तराईको जलथल वनमा पाइनु आश्चर्यजनक भएको बताउनु भयो ।

लटहर प्रजातिका रुख यहाँ जङ्गल भन्न सकिने अवस्थामा भेटिएको छ भने थाकल, ढाल्ने कटुस, मुसुरे कटुस, मौवा र पाँचपातेजस्ता पहाडी रुख यहाँ प्राकृतिक रुपमै हुर्किएका छन् । हिमालयन पिनाङ्गा नामले चिनिएको सुपारी प्रजातिको वनस्पतिसमेत यहाँ पाइएको शर्माले बताउनु भयो ।

दुर्लभ वनस्पति धेरैमात्रामा भेटिए पनि तिनको उचित संरक्षण हुन सकेको छैन । मानवीय अतिक्रमण र मिचाहा प्रजातिका झारहरुको प्रकोपले जैविक विविधता मासिँदै गएको छ । चोरी सिकारीको सक्रियताले जनावर लोप हुँदै गएका छन् ।

मृग र बँदेल सिकारीका कारण मासिँदै गएका छन् । अन्यत्र नपाइएको मुसे मृग केही वर्षयता देखिन छाडेको स्थानीयलाई उद्धृत गर्दै शर्माले बताउनुभयो । मुसाजस्तै सानो हुने भएकाले यसको नाम मुसे मृग रहेको हो ।

जलथलमा १७ प्रजातिका मिचाहा झारको प्रकोप देखापरेको छ । त्यसमध्ये स्थानीयले प्याङ्ग्री लहरा भन्ने गरेको माइकेनिया नामको मिचाहा झार सबैभन्दा ठूलो समस्याका रुपमा देखा परेको अनुसन्धाता शर्माले बताए । उल्टो काँडा भनिने अर्को प्रकारको मिचाहा झार पनि ठूलै समस्या बनेको छ ।

यी मिचाहा झारले सर्पगन्धा, कुरिलो, मधु, देउले च्याउलगायतका दुर्लभ वनस्पति लोप हुने खतरामा परेको उहाँले बताउनु भयो । पोथ्रा प्रजातिका रुखसमेत मिचाहा झारले ढाकेर मास्ने गरेको छ । खाली रहेको ठाउँ यिनै वनमारा झारले ढाकिसकेको हुँदा यसको नियन्त्रणका लागि स्थानीय सामुदायिक वन र पालिकाले कार्यक्रम ल्याउन आवश्यक भइसकेको उहाँको धारणा छ ।

सम्बन्धित खबर