
काठमाडौँ । पछिल्लो समय श्वासप्रश्वाससम्बन्धी रोग बढ्दै गएको छ । सरकारी तथ्याङ्कले पनि श्वासप्रश्वाससम्बन्धी स्वास्थ्य समस्या बढ्दै गएको देखाएको छ ।
स्वास्थ्य सेवा विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा एक लाख ८७ हजार ८५७ र आर्थिक वर्ष २०८०/८१ मा दुई लाख ५९ हजार ११० जनामा श्वासप्रश्वासको समस्या देखिएको थियो ।
श्वासप्रश्वाससम्बन्धी तत्कालीन र दीर्घकालीन स्वास्थ्य समस्या निम्तिने चिकित्सक बताउँछन् । छातीरोग विशेषज्ञ डा। रवि महतले श्वासप्रश्वाससम्बन्धी समस्या दम, निमोनिया, क्षयरोग, फोक्सोको क्यान्सर, रुघाखोकीजस्ता स्वास्थ्य समस्या लिएर बिरामी अस्पतालमा पुग्ने गरेको जानकारी दिनुभयो ।
प्रमुख श्वासप्रश्वाससम्बन्धी समस्या
दम : डा. महतका अनुसार श्वासप्रश्वाससम्बन्धी समस्या दम एक दीर्घकालीन स्वास्थ्य समस्या हो। खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, घ्यार घ्यार हुने र छाती दुख्ने दम रोगका प्रमुख लक्षण हुन् ।
फोक्सोको क्यान्सर : फोक्सोको क्यान्सर एक गम्भीर रोग हो, जसमा फोक्सोमा असामान्य कोशिकाहरू अनियन्त्रित रूपमा बढ्छन् । धूमपान फोक्सोको क्यान्सरको प्रमुख कारण हो। सास फेर्न गाह्रो हुने, खोकीमा रगत देखिनु, छाती दुख्ने, स्वर धोध्रो हुनु यसका प्रमुख लक्षण हुन् ।
निमोनिया : निमोनिया फोक्सामा हुने सङ्क्रमण हो । यो रोग ब्याक्टेरिया, भाइरस वा फङ्गसका कारणले लाग्ने गर्छ । खोकी लाग्ने, ज्वरो आउने, छाती दुःखाइ र सास फेर्न गाह्रो हुने यसका प्रमुख लक्षण हुन् ।
क्षयरोग (टीबी) : क्षयरोग एक सङ्क्रामक रोग हो । यो माइकोब्याक्टेरियम ट्युबरक्लोसिस नामक ब्याक्टेरियाको कारणले लाग्ने गर्छ । यो रोगले फोक्सो लगायत शरीरका विभिन्न अङ्गमा सङ्क्रमण गर्छ । लामो खोकी लाग्ने, खान मन नलाग्ने, हल्का ज्वरो आउने, खकारमा रगत देखिने यसका प्रमुख लक्षण हुन् ।
धुलो–धुवाँ, प्रदूषण, धूमपान र जीवनशैली परिवर्तनका कारण फोक्सोमा स्वास्थ्य समस्या बढ्दै गएको डा। महत बताउनुहुन्छ । निरन्तर खोकी लाग्नु, सास फेर्न गाह्रो हुनु, खोकीमा रगत देखिनु, छाती दुख्नु, अत्यधिक थकान हुनु, खान नरुच्नु, तौल घट्दै जाने श्वासप्रश्वाससम्बन्धी रोगका प्रमुख लक्षण हुन् ।
यस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्यकर्मीसँग परामर्श गर्न डा. महतको सुझाव छ । रोग पत्ता लगाएपछि रोगअनुसार उपचार हुने उहाँको भनाइ छ । नियमित स्वास्थ्य परीक्षण र समयमै उपचार गरे फोक्सोका धेरै रोगहरू नियन्त्रणमा राख्न सकिने डा. महतको भनाइ छ ।
रोकथामका उपाय
श्वासप्रश्वाससम्बन्धी स्वास्थ्य समस्या रोकथामको लागि धूमपान नगर्न, धूलो–धुवाँबाट टाढा रहन, मास्क प्रयोग गर्न र स्वस्थ जीवनशैली अपनाउन डा। महतको आग्रह छ ।
उहाँका अनुसार प्रदूषणबाट फोक्सोलाई बचाउन धुलो, धुवाँ, ढुसीबाट बच्ने, हावा आवत-जावत गर्ने कोठामा बस्ने, धूमपान नगर्ने, प्रदूषित क्षेत्रमा जाँदा मास्क लगाउनु पर्छ । फोक्सोलाई स्वस्थ राख्न खानामा हरियो सागपात, फलफूल समावेश गर्न उहाँको आग्रह छ । नियमित व्यायामले फोक्सोको कार्यक्षमता सुधार गर्न सकिन्छ ।
फोक्सोको सङ्क्रमणबाट जोगाउन सङ्क्रमित व्यक्तिबाट टाढै रहने, सामाजिक दूरी कायम राख्ने, हात धुने, मास्कको प्रयोग गर्ने । सङ्क्रमण भइहालेमा प्रशस्त झोलिलो पदार्थ पिउने, पर्याप्त पानी पिउने । फ्लू र निमोनियाबाट बच्नका लागि खोप लगाउन उहाँको सुझाव छ ।