
झापा । भारतको रक्षा अनुसन्धान सङ्गठन ‘डिफेन्स रिसर्च एन्ड डेभलपमेन्ट अर्गनाइजेशन’ (डीआरडीओ) ले मध्यम दूरीको अग्नि–प्राइम मिसाइल सफलतापूर्वक परीक्षण गरेको छ । यो मिसाइल रेल–आधारित मोबाइल लन्चरबाट प्रक्षेपण गरिएको बीबीसी हिन्दीले जनाएको छ ।
यसबारे जानकारी दिँदै भारतीय रक्षामन्त्री राजनाथ सिंहले यो नयाँ पुस्ताको मिसाइलले २ हजार किलोमिटरसम्मको दूरी तय गर्न सक्ने र यसमा धेरै आधुनिक सुविधाहरू रहेका बताउनुभएको छ ।
विशेष रूपमा डिजाइन गरिएको रेल–आधारित मोबाइल लन्चरबाट पहिलो पटक मिसाइल प्रक्षेपण गरिएको रक्षामन्त्री सिंहले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मा लेख्नुभएको छ ।
यसलाई देशको कुनै पनि ठाउँमा तैनाथ गर्न सकिने र आवश्यक पर्दा छिटै प्रयोग गर्न सकिने सिंहले जानकारी दिनुभएको छ । यो प्रणाली रेल नेटवर्कमा कुनै पूर्वतयारीविना नै चलाउन सकिने उहाँको भनाइ छ ।