२०८२ असोज ९, बिहिवार , ०६:५३:४२ बजे

Sajhamanch
'

सिम्रिक साकोसको सातवटै इकाइगत साधारण सभाहरु सम्पन्न

बिहिवार, असोज ९, २०८२

बिर्तामोड । बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १५औं वार्षिक साधारण सभा अन्तर्गतको सातौं इकाइगत साधारण सभा आज बिहीबार बिर्तामोडमा सम्पन्न गरेको छ ।

झापामा २५, इलाममा ११, पाँचथरमा १ वटा र मोरङ ९ वटा सेवा केन्द्र रहेको सो साकोसले असोज ३ गतेबाट सुरु गरेको इकाईगत साधारणसभा आज असोज ९ गते सम्पन्न गरेको हो ।

बिर्तामोड आसपास र खुदुनाबारी हुँदै इलामको दानाबारीसम्मका ७ वटा सेवा केन्द्रहरु रहेको सातौं इकाइको सभा आज सम्पन्न भएसँगै अब शनिबार माइन्युट प्रमाणिकरण सभा गरिने भएको छ ।

सहकारी संस्थाको साधारणसभा कार्यब्यवस्था (पहिलो संशोधन) निर्देशिका २०७६, सहकारी नियमावली २०७५ को दफा (झ) बमोजिम संस्थाले सातवटा इकाइगत साधारसभा गरेको हो । सहकारी नियमन प्राधिकरणको गत भाद्र १७ गतेको निर्देशन बमोजिम सिम्रिकले बाह्य अतिथिहरु निम्तो नगरी सदस्यहरुको मात्र उपस्थितिमा ७ वटै इकाइगत साधारण सभा सम्पन्न गरेको जनाइएको छ ।

संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा भएको इकाइगत साधारणसभामा उहाँले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै ‘एक घर एक सदस्य’ अभियान अन्तर्गत यसवर्ष ५ हजार २३४ नयाँ सदस्य थपिएका र शेयर पूँजी ३५ करोड ९ लाख १५ हजार ५०० पुगेको जानकारी दिनुभयो ।

अध्यक्ष भट्टराईले अघिल्लो आर्थिक वर्षको वासलात ३ अर्ब ३ करोड ५० लाख ७६ हजार ५८३ बाट ९ दशमलव ३८ प्रतिशत बृद्धि भई यसवर्ष ३ अर्ब ३१ करोड ९८ लाख ४४ हजार १११ पुगेको बताउनु भयो ।

संस्थामा निक्षेप बचत उल्लेख्य वृद्धि भएको जनाउनु हुँदै अध्यक्ष भट्टराईले असार मसान्तमा ४२ करोड २१ लाख ३ हजार थप भई २ अर्ब १५ करोड २५ लाख ८४ हजार पुर्याइएको सुनाउनु भयो ।

यसैगरी संस्थाले सदस्यहरु माझ गरेको ऋण लगानी रकम पनि वृद्धि भएको छ । गत असार मसान्तमा १६ करोड ७४ लाख ७३ हजार वृद्धि भई २ अर्ब ६३ करोड ७३ लाख १२ हजार पुर्याइएको अध्यक्ष भट्टराईले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा उल्लेख छ ।

वार्षिक प्रतिवेदन अनुसार सहकारी संस्थाको मेरुदण्ड मानिने जगेडा कोषमा गत असार मसान्तमा सिम्रिक साकोससँग २५ करोड ९२ लाख ५२ हजार रुपैयाँ रहेको छ ।

संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले शाब्दिक स्वागतसहित इकाइगत साधारणसभाको प्रक्रिया जानकारी गराउनु भएको थियो । उहाँले सदस्यहरुलाई प्रतिवेदनमा उल्लेखित विषयहरु प्रष्ट नभएमा वा संस्थाको समग्र विषयमा जिज्ञासा भएमा सञ्चालकहरुबाट उत्तर दिन सहज होस् भनेर बाह्य अतिथि नबोलाइएको प्रष्ट पार्नुभयो ।

साधारणसभामा अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनसहित उठेका अन्य विषयहरु माथि प्रष्ट पार्नुहुँदै कार्यकारी प्रमुख बस्नेतले सहकारीको विनियम अनुसार सदस्यहरुलाई समीक्षा वर्षमा ४ दशमलव ०६ प्रतिशत शेयर बोनस वितरण गर्ने तयारी भएकोमा मापदण्डले अलमलमा पारेकाले केही तलमाथि हुनसक्ने जानकारी गराउनु भयो ।

इकाईगत साधारण सभामा सातवटै सेवा केन्द्रबाट १–१ जना उत्कृष्ट बचतकर्ता र असल ऋणिलाई नगद २ हजार ४५० रुपैयाँसहित सम्मानपत्र प्रदान गरी सम्मान गरिएको छ ।

उत्कृष्ट बचतकर्ताका रुपमा नर्वदा भट्टराई बिर्तामोड, गीता पाठक बिर्ताबजार, कल्पना तामाङ खुदुनाबारी, रञ्जिता ठाकुर शनिश्चरे, हेमचन्द्र तामाङ शनिश्चरेरोड, मनिषा श्रेष्ठ सितली र कृष्णबहादुर बस्नेत गरामनीलाई सम्मानित एवम् पुरस्कृत गरिएको छ ।

यसैगरी असल ऋण कारोबारी सदस्यहरु चेतनाथ पौडेल बिर्तामोड, डम्बरबहादुर गौतम बिर्ताबजार, राजेन्द्र राई खुदुनाबारी, कञ्चन पोर्तेल शनिश्चरे, प्रकाश बाँस्तोला शनिश्चरेरोड, सुशीला घिमिरे सितली र नरप्रसाद ढकाल गरामनी पुरस्कृत एवम् सम्मानित हुनुभएको छ ।

संस्थाका जनसम्पर्क अधिकारी प्रेम बस्नेत (विजय)ले सञ्चालन गर्नुभएको सो इकाइगत साधारण सभामा सिम्रिकले आफ्ना सदस्यहरुलाई प्रदान गर्दै आएको उपचार सुविधा पनि वितरण गरिएको छ ।

बिर्तामोड सेवा केन्द्र अन्तरगतका सदस्य शोभा चुडालको हातको शल्यक्रिया गराउँदा भएको खर्च वापत २७ हजार रुपैयाँ र बिर्ताबजारका ममतादेवी साहा सोनीको प्रसुती उपचार सुविधा वापत २० हजार २५० प्रदान गरिएको हो ।

यस्तै बिर्ताबजारका शान्ति राजवंशीको फोक्सो सम्बन्धी समस्याको उपचार सुविधा वापत १८ हजार रुपैयाँ र सुत्केरी उपचार सुविधा वापत बिर्तामोडका मुना कट्वाललाई १० हजार १२५ रुपैयाँ प्रदान गरिएको जनशक्ति विभाग प्रमुख मिनबहादुर अधिकारीले जानकारी दिनुभयो ।

सम्बन्धित खबर