२०८२ असोज ९, बिहिवार , ०४:४४:५० बजे

Sajhamanch
'

जेन–जी आन्दोलनबाट क्षतिग्रस्त भौतिक संरचना बनाउन पूर्वाधार पुनर्निर्माण कोष स्थापना

बिहिवार, असोज ९, २०८२

काठमाडौं । सरकारले जेन–जी आन्दोलनबाट क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माण गर्न भौतिक पूर्वाधार पुनर्निर्माण कोष बनाएको छ ।

भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा भौतिक संरचनामा आगजनी र तोडफोड भई खर्बौंको क्षति भएपछि सरकारले सहायता लिएर पुनर्निर्माण गर्न लागेको हो ।

अर्थमन्त्री रामेश्वर खनालले पुनर्निर्माणका लागि सरकारलाई स्रोत अभाव नभए पनि विदेशमा भएका नेपालीले पुनर्निर्माणमा सहभागिता जनाउन चाहेकाले कोष बनाइएको बताउनुभयो ।

कोषमा नेपाल सरकार, प्रदेश सरकार एवम् पालिका, निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिक, गैरआवासीय नेपाली समुदाय, मित्र राष्ट्र, विकास साझेदार तथा अन्तर्राष्ट्रिय संस्थाहरूले सहयोग गर्न सक्ने भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले जानकारी दिनुभयो । उहाँले कोषमा योगदानका लागि आह्वानसमेत गर्नुभएको छ ।

घिसिङका अनुसार आन्दोलनका क्रममा भत्किएका भौतिक पूर्वाधार पुनर्निर्माणका लागि अर्थमन्त्री अध्यक्ष रहने गरी पाँच सदस्यीय समिति बनेको छ । समितिमा गृहमन्त्री र शहरी विकासमन्त्री पनि सदस्य रहनेछन् । समिति सदस्य सचिवका रूपमा शहरी विकास मन्त्रालयका सचिवले काम गर्नेछन् ।

सम्बन्धित खबर