
झापा । भारतको लद्दाखलाई पूर्ण राज्यको दर्जा दिने र संविधानको छैठौं अनुसूचीमा समावेश गर्ने मागसहित भइरहेको प्रदर्शन हिजो हिंसात्मक बनेको छ । लेहमा हजारौं प्रदर्शनकारीले र्याली निकालेका थिए ।
प्रदर्शनकारीहरूले भारतीय जनता पार्टी (बीजेपी) को जिल्ला कार्यालयमा आगो लगाएको र प्रहरी तथा सुरक्षा निकायका गाडीहरूमा तोडफोड तथा आगजनी गरेको बीबीसी हिन्दीले जनाएको छ । यस घटनापछि प्रशासनले लेहमा कर्फ्यु लगाएको छ ।
साथै, भारतीय दण्ड संहिता अन्तर्गत बीएनएसको धारा १६३ लागू गरिएको छ, यसमा पाँच जना भन्दा बढी व्यक्तिको जमघटमा प्रतिबन्ध लगाइएको छ । कुनै पनि जुलुस वा र्याली निकाल्न पूर्व लिखित अनुमति अनिवार्य गरिएको खबरमा उल्लेख छ ।
प्रदर्शनको नेतृत्व गर्दै आएका पर्यावरणविद् र सामाजिक अभियन्ता सोनम वांगचुक १५ दिनदेखि आमरण अनशनमा हुनुहुन्थ्यो । हिजो हिंसा र तनावपूर्ण परिस्थितिपछि उहाँले अनशन तोड्नुभएको छ ।
उहाँले एक भीडीयोे सन्देशमार्फत् हिंसा र तोडफोडप्रति दुःख व्यक्त गर्दै युवाहरूलाई संयमित रहन र शान्तिपूर्ण मार्ग अपनाउन आग्रह गरेका छन् । लेहमा हजारौं युवा सडकमा उत्रिएको र ‘जेन जेडी’ क्रान्ति भएको उहाँको भनाइ छ ।
बीजेपीका प्रदेश अध्यक्ष ताशी ग्यालसन खाचूले पार्टी कार्यालयमा आगो लगाइएको पुष्टि गर्नुभएकोछ । यता, सुरक्षा निकायले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार र लाठीचार्ज गरेको थियो ।
लेह–लद्दाख संवेदनशील क्षेत्र हो । चीनको सीमासँग जोडिएको यो भूभागमा हिंसा हुनुलाई विश्लेषकहरूले गम्भीर विषय भनेका छन । साथै भारत सरकारका लागि यो एक चेतावनी पनि भएको विज्ञहरुको भनाइ छ ।