
झापा । इरानमा सन् २०२५ को शुरूआतदेखि अहिलेसम्म कम्तीमा एक हजार जनालाई मृत्युदण्ड दिइएको गैरसरकारी संस्था इरान मानवअधिकार (आइएचआर) ले जानकारी गराएको छ । संस्थाले यो कार्यको आलोचना गरेको छ ।
गएको हप्तामात्रै ६४ जनालाई मृत्युदण्ड दिइएको आइएचआरलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । मानवअधिकारकर्मीको भनाइमा, पछिल्ला वर्षहरूमा देखा परेका विरोध–प्रदर्शन तथा इजरायलसँगको द्वन्द्वपछि इरानले मृत्युदण्डलाई अझ तीव्र रूपमा प्रयोग गर्दै आएको छ ।
संस्थाले संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय निकायलाई मृत्युदण्डको यो प्रवृत्तिलाई मानवताविरुद्धको अपराधको रूपमा गम्भीरतापूर्वक हेर्न आग्रह समेत गरेको छ । इरानी संस्थाका अनुसार झन्डै ५० प्रतिशत मृत्युदण्ड मादक पदार्थसम्बन्धी गैर–घातक अपराधमा दिइएका छन् ।