
झापा । वर्षको सबैभन्दा शक्तिशाली आँधी ‘रागासा’ हङकङ र दक्षिणी चीनतर्फ बढेको छ । आँधीको सामना गर्न चीन र हङकङले तयारी थालेका बीबीसीले जनाएको छ ।
चीनको ग्वाङदोङ प्रान्तबाट ३ लाख ७० हजारभन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । रागासा आँधी भोलि ग्वाङदोङमा बज्रिने मौसमविद्हरूले अपेक्षा गरेका छन् ।
यसैबीच आँधीका कारण हङकङमा सयौं उडान रद्द गरिएका खबरमा उल्लेख छ । हङकङ अब्जर्भेटरीले लेभल–८ को आँधीको चेतावनी जारी गरेको छ, यो १० को अधिकतम चेतावनी स्तरभन्दा दुई स्तर कम हो । यसको अर्थ हावा औसतमा ६३ किलोमिटर प्रतिघण्टा वा त्योभन्दा धेरै गतिमा चल्नेछ ।
समाचार संस्था एएफपीको रिपोर्ट अनुसार चीनले कम्तीमा १० शहरमा विद्यालय र केही व्यवसायहरू बन्द गर्न आदेश दिएको छ ।
यो आँधीले यसअघि फिलिपिन्समा प्रभाव पारेको थियो । मानव सिर्जित जलवायु परिवर्तनले आँधीबेहरीलाई अझ शक्तिशाली र बारम्बार बनाउँदै गएको वैज्ञानिकहरू बताउँछन् ।