
झापा । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग आउँदो हप्ता न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको महासभामा भेट गर्ने योजना सार्वजनिक गर्नुभएको छ । भेटको उद्देश्य रुसमाथि अझ कडा प्रतिबन्ध लगाउन ट्रम्पलाई दबाब दिने रहेको अलजजिराले जनाएको छ ।
रुसले युक्रेनमाथिको आक्रमण तीव्र बनाएको दिन नै जेलेन्स्कीले यस्तो बताउनु भएको हो । पछिल्ला दिनहरूमा रुसले युरोपको पूर्वी सीमामा ड्रोन र लडाकु विमान पठाएर चासो बढाएको छ । युक्रेनको डनिप्रो सहरमा हिजो भएको मिसाइल आक्रमणमा अपार्टमेन्ट भवनहरू क्षतिग्रस्त भएका छन् ।
आक्रमणमा कम्तीमा तीन जनाको ज्यान गएको छ भने दर्जनौं घाइते भएका समाचारमा उल्लेख छ । युरोपेली सङ्घले भर्खरै आफ्नो १९औं प्रतिबन्ध प्याकेज घोषणा गरेपछि जेलेन्स्कीले युरोपले आफ्नो काम गरिरहेको र अब अमेरिकाबाट पनि कडा प्रतिबन्धको अपेक्षा गरिएको प्रतिक्रिया दिनुभएको छ ।
यद्यपि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा पश्चिमी सैनिकहरूको उपस्थिति स्वीकार्न नसकिने चेतावनी दिनुभएको छ । पछिल्लो दुई हप्तामा पोल्याण्ड र रोमानियामा रसियन ड्रोनहरू पसेपछि नाटो देशहरूले पूर्वी सीमामा सुरक्षा बढाएका छन् ।