२०८२ असोज ३, शुक्रवार , ११:२०:४८ बजे

Sajhamanch
'

फागुन २१ का लागि तय भएको चुनाव सफल बनाउन प्रधानमन्त्री कार्कीको अपिल

शुक्रवार, असोज ३, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ का लागि तय भएको चुनाव सफल बनाउन अपिल गर्नुभएको छ । संविधान दिवसको अवसरमा आज काठमाडौंको टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले सरकार नागरिकप्रति पूर्ण जवाफदेही रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले निस्पक्षरूपमा चुनाव सम्पन्न गरी ६ महिनाभित्र जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने उल्लेख गर्नुभयो । जेन–जी युवाको नेतृत्वमा भएको आन्दोलनको मार्गदर्शन अनुसार काम गर्न यो सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ सालको अवसरमा काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा मूल समारोह आयोजना गरिएको हो । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा अन्तरिम सरकारका प्रधानमन्त्री कार्की, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत सहभागी हुनुहुन्थ्यो । पूर्वप्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाललगायत संविधान दिवसको मूल समारोहमा सहभागी हुनुभएन ।

विभिन्न दलले आफ्नै पार्टी कार्यालयमा संविधानको रक्षाका लागि खबरदारी गर्दै संविधान दिवस मनाएका छन् । सैनिक मञ्च टुँडिखेलको कार्यक्रममा यसपाली विगतमा जस्तो साँस्कृतिक झाँकीलगायत कार्यक्रम भएनन् । संविधानसभाबाट नेपालको संविधान २०७२ साल असोज ३ गते घोषणा भएको थियो ।

सम्बन्धित खबर