२०८२ असोज २, बिहिवार , ०५:२१:५९ बजे

Sajhamanch
'

हरितगृह ग्यास उत्सर्जन कम गर्न अस्ट्रेलियाको नयाँ महत्त्वाकांक्षी लक्ष्य सार्वजनिक

बिहिवार, असोज २, २०८२

झापा । अस्ट्रेलियाले सन् २०३५ सम्ममा आफ्नो हरितगृह ग्यास उत्सर्जनलाई सन् २००५ को तुलनामा ६२ प्रतिशतदेखि ७० प्रतिशतसम्म कम गर्ने महत्त्वाकांक्षी लक्ष्य सार्वजनिक गरेको छ ।

नयाँ लक्ष्य सन् २०३० सम्ममा ४३ प्रतिशत कटौती गर्ने र २०५० सम्ममा शुद्ध–शून्य उत्सर्जन हासिल गर्ने प्रतिबद्धतासँग जोडिएको छ ।

प्रधानमन्त्री एन्थोनी अल्बानिजले आफ्नो सरकारको नयाँ योजना आउँदो संयुक्त राष्ट्रसङ्घीय महासभामा प्रस्तुत गर्ने बताउनुभयो । उहाँका अनुसार यो कदम वातावरण, अर्थतन्त्र, रोजगारी र भावी पुस्ताको हितमा हुनेछ ।

लक्ष्यको समर्थनसँगै आलोचना पनि भइरहेको छ । व्यापारिक निकायहरूले त्यसले अर्बौं डलरको निर्यात जोखिममा पार्ने चेतावनी दिएका छन् ।

यस्तै कन्जर्भेटिभ विपक्षी लिबरल पार्टीले भने सरकार सन् २०३० को लक्ष्य नै पूरा गर्न असफल हुने भन्दै सन् २०३५ को लक्ष्यलाई काल्पनिक भनेको छ ।

सरकारले भने अस्ट्रेलिया सन् २०३० को लक्ष्य हासिल गर्ने बाटोमै रहेको र सन् २०३५ को लक्ष्य व्यावहारिक रूपमा सम्भव हुने दाबी गरेको छ ।