
झापा । संयुक्त राष्ट्रसङ्घको अनुसन्धान आयोगले इजरायलले गाजामा प्यालेस्टिनीहरूविरुद्ध नरसंहार गरेको बताएको छ । सन् २०२३ मा प्यालेस्टिनी विद्रोही समूह हमाससँगको युद्ध शुरू भएदेखि नै इजरायलले नरसंहार गरेको प्रतिवेदनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
प्रतिवेदनअनुसार अन्तर्राष्ट्रिय कानून अन्तर्गत परिभाषित ५ नरसंहार कार्यमध्ये ४ इजरायलले गरिरहेको छ । यसमा हमास समूहका सदस्यहरूलाई मार्ने, उनीहरूलाई गम्भीर शारीरिक र मानसिक क्षति पुर्याउने, समूहलाई नष्ट गर्न जानजानी परिस्थितिहरू सिर्जना गर्ने र जन्म रोक्ने रहेका छन् ।
इजरायलको विदेश मन्त्रालयले यो प्रतिवेदनलाई ‘विकृत र झूटा’ भन्दै स्पष्ट रूपमा अस्वीकार गरेको बताएको छ ।
सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासको नेतृत्वमा भएको आक्रमणको प्रतिक्रियामा इजरायली सेनाले गाजामा सैन्य कारबाही शुरू गरेको थियो । हमासको आक्रमणमा झन्डै १ हजार २०० जना मारिएका थिए भने २५१ जना बन्धक बनाइएका थिए ।
त्यस बेलादेखि गाजामा इजरायली आक्रमणमा कम्तीमा ६४ हजार ९०० जनाको ज्यान गएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।