
झापा । दोहामा हिजो बसेको आपतकालीन अरब–इस्लामिक शिखर सम्मेलनले कतारमाथि इजरायलले गरेको आक्रमणलाई कायरता र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भन्दै कडा रूपमा भर्त्सना गरेको छ ।
गल्फ सहयोग परिषद् जिसीसीले आफ्ना सदस्य देशहरूमाथिको हमला सामूहिक सुरक्षा उल्लंघन मानिने भन्दै संयुक्त रक्षा संयन्त्र सक्रिय गर्ने निर्णय गरेको अलजजिराले जनाएको छ ।
कतारी अमिर शेख तमीम बिन हमाद अल थानीले इजरायली आक्रमण शान्ति प्रयास विफल पार्ने नियोजित चाल भएको बताउनुभयो ।
सम्मेलनमा कुनै ठोस प्रतिरोधात्मक उपाय घोषणा नभए पनि टर्की, इरान, पाकिस्तान र मलेसियालगायत केही देशहरूले आर्थिक दबाब, अन्तर्राष्ट्रिय कानुनी कारबाही र इजरायलसँगको सम्बन्ध विच्छेदको माग गरेको खबरमा भनिएको छ ।
कतारले संयुक्त राष्ट्रसङ्घ तथा क्षेत्रीय संगठनमार्फत इजरायललाई जवाफदेही बनाउने बताएको छ । अमेरिका र कतारबीच उच्चस्तरीय छलफल पनि चलिरहेको बताइएको छ ।