२०८२ भदौ ३१, मङ्गलवार , १२:२४:४३ बजे

Sajhamanch
'

अर्जुनधारा नगरपालिका सरसफाइमा जुटे कर्मचारी, तत्काल सेवा सुचारु गर्ने तयारी

मङ्गलवार, भदौ ३१, २०८२

झापा । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षति पुगेको अर्जुनधारा नगरपालिकाको कार्यालय र परिसरमा सरसफाइ गरिएको छ। आइतबारदेखि सुरु भएको सरसफाइ अभियान सोमबार पनि जारी रह्यो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनोज कुमार घिमिरेका अनुसार मुचुल्का प्रक्रिया पूरा गरी क्षतिको विवरण संकलनपछि सरसफाइ कार्य थालिएको हो। सोमबार क्षतिको विवरण संकलन गरिएको भए पनि रकमसहितको विस्तृत विवरण भने आउन बाँकी रहेको उहाँले बताउनु भयो।

नगरपालिकाको सेवा छिट्टै सञ्चालन गर्ने उद्देश्यसहित सोमबार पहिलो चरणमा सभाहल सरसफाइ गरिएको थियो। मंगलबार भने सबै कोठा र परिसरमा सरसफाइ गरिएको नगरपालिकाका कर्मचारी विक्रम पोखरेलले जानकारी दिनुभयो। सरसफाइ कार्यमा कर्मचारीहरू सक्रिय खटिएका छन्।

जेनजी आन्दोलनका क्रममा नगरपालिकाका ११ वटै वडा कार्यालयमा गम्भीर क्षति पुगेकाले अस्थायी रूपमा नगरको सभाहलबाटै नागरिकलाई सेवा दिन तयारी भइरहेको घिमिरेले बताउनु भयो। उहाँका अनुसार सभाहलको व्यवस्थापन पूरा भएपछि वडाध्यक्ष र वडा सचिवमार्फत सेवा प्रवाह सुरु गरिनेछ।

आन्दोलनका क्रममा नगरपालिकाका ४ पाङ्ग्रे र २ पाङ्ग्रे गरी करिब एक दर्जन सवारीसाधन पूर्ण रूपमा जलेका छन्। कार्यलय भवनका अधिकांश कोठामा तोडफोड भएको छ भने केही कोठामा आगजनी समेत भएको छ।

यसबीच, नगरपालिकाको कार्यालय र वडा कार्यालयबाट चोरी वा हराएका केही सामग्री नागरिकले फिर्ता गरिसकेका छन् भने अझै फिर्ता नभएका सामग्री जुनसुकै व्यक्तिसँग भए पनि फिर्ता गर्न आग्रह गरिएको घिमिरेले जानकारी दिनु भयो।

नगर प्रमुख बलदेव सिंह गोम्देनले आइतबारै एक सूचना जारी गर्दै आन्दोलनका क्रममा क्षति पुगेका कार्यालयहरूलाई चाँडै पुनः सञ्चालन गर्ने तयारी भइरहेको जनाएका थिए।

सम्बन्धित खबर