
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालस ऊर्जा, जलस्रोत तथा सिँचाइ भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानून, न्याय तथा संसदीय मालिलामन्त्री ओमप्रकाश अर्यालले शपथ लिनुभएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिशमा नियुक्त हुनुभएका तीनै जनालाई राष्ट्रपति रामचन्द्र पौडेलले आज राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । अब मन्त्रिपरिषद् प्रधानमन्त्रीसहित चार सदस्यीय बनेको छ ।
अर्थमन्त्रीमा नियुक्त रामेश्वर खनाल पूर्व अर्थसचिव एवम् अर्थविद् हुनुहुन्छ । तात्कालिक अर्थमन्त्री भरतमोहन अधिकारीसँग मतभिन्नता उत्पन्न भएपछि उहाँले पदबाट राजीनामा दिनुभएको थियो ।
उहाँ अघिल्लो सरकारले गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव सिफारिश आयोगका अध्यक्ष हुनुहुन्थ्यो । आयोगले केही महिनाअघि सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको थियो ।
यस्तै इन्जिनियर रहनुभएका कुलमान घिसिङलाई केही महिनाअघि केपी शर्मा ओली सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको थियो । नेपालबाट लोडशेडिङ हटाएको श्रेय दिइने गरेका घिसिङलाई निकै लोकप्रिय मानिन्छ ।
ओमप्रकाश अर्याल कानून व्यवसायी हुनुहुन्छ । उहाँले भ्रष्टाचार विरोधी अभियानकर्मीको छवि बनाउनुभएको छ । उहाँ यसअघि काठमाण्डौ महानगरका कानूनी सल्लाहकार हुनुहुन्थ्यो ।