
झापा । बङ्गलादेशमा मोबाइल डेटाको पछिल्लो संस्करण फाइभजी सेवा शुरू भएको छ । देशका दुई ठूला दूरसञ्चार कम्पनी ग्रामीणफोन र रोबी आक्जिएटाले हिजोदेखि प्रमुख शहरहरूमा व्यावसायिक रूपमा फाइभजीको सीमित रूपमा शुरुआत गरेका बङ्गलादेशी सञ्चारमाध्यमले जनाएका छन् ।
यसलाई बङ्गलादेशको डिजिटल रूपान्तरणमा महत्त्वपूर्ण कदम भएको उल्लेख गरिएको छ । शुरूमा परीक्षणको आधारमा चुनिएका क्षेत्रहरूमा शुरू गरिएको फाइभजी नेटवर्क आउँदा वर्षहरूमा देशव्यापी रूपमा विस्तार हुने अपेक्षा छ ।
मिडिया रिपोर्टहरूका अनुसार रोबीले फकीरापुल, मगबजार चौरस्ता, ढाका विश्वविद्यालयका केही भाग, चट्टोग्रामको खुल्शी र सिल्हेटको सागोर दिघिर पारमा फाइभजी सेवा शुरू गरेको छ ।
रोबीका नियामक मामिला प्रमुख शाहेद आलमले टेलिकमले यस वर्षको अन्त्यसम्ममा दुई सयभन्दा धेरै फाइभजी साइट र सन् २०२६ को अन्त्यसम्ममा एक हजार साइट स्थापना गर्ने योजना बनाएको बताउनुभयो ।
फाइनान्सियल एक्सप्रेसका अनुसार रोबीले स्मार्टफोनको पहुँच कम्तीमा २० प्रतिशत भएको ठाउँहरूमा प्राथमिकता दिनेछ ।
हिजो रोबीको फाइभजी शुरुआत कार्यक्रमको केही घण्टापछि ग्रामीण फोनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) यासिर अजमानले फेसबुकमार्फत टेलिकमले आठ वटै डिभिजनल शहरहरू – बरीशाल, चट्टोग्राम, ढाका, खुलना, राजशाही, रङ्गपुर, मयमनसिंह र सिल्हेटमा फाइभजी शुरु गरेको घोषणा गर्नुभएको थियो ।
दक्षिण एशियामा यसअघि भारत, माल्दिभ्स, भूटान र श्रीलङ्काले फाइभजी शुरु गरिसकेका छन् । नेपालले फाइभजीको परीक्षण गरिसकेको भए पनि अहिलेसम्म व्यावसायिक सेवा शुरू गर्न सकेको छैन ।