२०८२ भदौ २४, मङ्गलवार , ०८:३०:५४ बजे

Sajhamanch
'

महाकाली नदीको कटानले कञ्चनपुरको कुतियाकवर बस्ती जोखिममा

मङ्गलवार, भदौ १७, २०८२

काठमाडौं । महाकाली नदीको कटानले कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–१० को कुतियाकवर बस्ती जोखिममा परेको छ । पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाँधमा रहेको कुतियाकवर दक्षिणमा भने भारतसँग जोडिएको छ । यो बस्तीमा महाकाली नदीको लगातारको कटानले बढी क्षति पुगेको हो ।

स्थानीयबासिन्दाका अनुसार नदीको कटानले त्यहाँ दुई बिघाभन्दा बढी जमिन नदीले बगाएको छ । महाकाली र जोगबुढा नदी बस्ती पस्न थालेपछि एक सय ५० परिवार मध्ये एक सय परिवार विस्थापित भएका छन् ।

त्यस्तै सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ को थामेखोलामा अस्ति राति आएको बाढीले पाँच घर पूर्ण रुपमा बगाएको छ । छ वटा घरमा आंशिक क्षति पुर्‍याएको छ ।

अविरल वर्षाका कारण बस्तीतर्फ मोडिएको बाढीले थामेको बिजुलीको पोलमा क्षति भई विद्युत् प्रसारण र सञ्चार सेवा अवरुद्ध भएको गाउँपालिकाले विज्ञप्ति निकालेर जनाएको छ ।

यस्तै पानीको सतह लगातार बढ्दै गएपछि बाढीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सप्तकोसी नदीका ३८ ढोका खोलिएको छ । पहाडी भेगमा भएको लगातारको वर्षाका कारण नदीमा पानीको बहाव उच्च हुँदै गएपछि कोसी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको हो ।

यसैबीच लगातार भइरहेको वर्षाका कारण बाढीपहिरो र अन्य प्राकृतिक विपद्को जोखिम हुनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

आकश्मिक अवस्थाबाहेक यात्रामा नगर्न र जोखिम भएका स्थानमा नबस्न जिल्लावासीलाई आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो ।

सम्बन्धित खबर