२०८२ भदौ १२, बिहिवार , ११:१७:१० बजे

Sajhamanch
'

अण्डा उत्पादन घट्यो, मूल्य बढ्यो

बिहिवार, भदौ १२, २०८२

काठमाडौं । चाडपर्व शुरू भएसँगै अण्डा खपत बढेको छ । उत्पादन घटेको र माग बढेपछि अण्डाको मूल्य समेत बढेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको समर्थन मूल्य बढेको जनाएको छ । विभिन्न फार्महरूको दरका आधारमा समर्थन मूल्य तय गरिएको हो ।

सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार आजदेखि लागू हुने गरी ठूलो अण्डाको मूल्य प्रतिक्रेट ३० वटाको ५४५ रुपैयाँ र मझौला अण्डाको ५३० रुपैयाँ कायम गरिएको छ ।

यससँगै खुद्रा बजार मूल्य प्रतिगोटा २३ रुपैयाँ कायम गरिएको छ । नेपालमा अहिले अण्डाको औसत लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५६ पैसा रहेको छ ।

नयाँ मूल्यअनुसार किसानले ठूलो अण्डाको प्रतिगोटा १८ रुपैयाँ १६ पैसा पाउने भएका छन् । लामो समयदेखि लागत मूल्यसमेत नपाएका किसानले राहत महसुस गरेका छन् ।

यसवर्ष साउन महिनामा समेत माग नघटेको र क्रमशः अण्डाको मूल्य बढ्दै जाने अध्यक्ष पोखरेलले बताउनुभयो । अहिले लागत मूल्य पाए पनि धेरै किसान विस्थापित भइसकेका छन् । उहाँले अहिले कुखुरा पालिरहेका किसान समेत विगतको नोक्सानका कारण सङ्कटमा रहेको बताउनुभयो ।

नेपाल अण्डा उत्पादक सङ्घका पूर्व केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलले दैनिक ४० लाखभन्दा बढी अण्डा उत्पादन हुने गरेकामा अहिले २२ लाखको हाराहारीमा झरेको जानकारी दिनुभयो ।

सम्बन्धित खबर