
काठमाडौं । पारिस्थितिक प्रणालीको संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका साथ आज विश्वका विभिन्न देशमा विश्व ताल दिवस मनाईंदैछ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा यसै वर्षदेखि यो दिवस मनाउन थालिएको हो ।
गएको वर्षको महासभामा विश्व ताल दिवस मनाउनेसम्बन्धी प्रस्ताव पारित भएको थियो । विभिन्न सङ्घसंस्था, नागरिक समाज, निजी क्षेत्र, वातावरण एवम् शैक्षिक अभियन्तालाई तालको महत्त्वबारेमा आवश्यक शिक्षा प्रदान गर्दै तिनको संरक्षण गर्नु यो दिवसको मुख्य उद्देश्य हो ।
संयुक्त राष्ट्रसङ्घका अनुसार पृथ्वीमा ११ करोड ७० लाखभन्दा धेरै ताल छन् । तिनले विश्वको जमिनको चार प्रतिशत भाग ओगटेका छन् । प्रदूषण र ‘मिथेन’ उत्सर्जनका कारण वातावरणीय नोक्सानिका साथै ताजा पानीका स्रोतहरू घट्दै गएको सन्दर्भमा यो दिवस मनाउनुको सान्दर्भिकता बढेको छ ।
तालहरूले जैविक विविधता कायम राख्न योगदान दिएका छन् । तर बढ्दो विश्वव्यापी तापक्रम वृद्धिले तालहरू सुक्दै गएका छन् । बरफ पग्लने क्रम पनि बढेको छ । अनेक कारणले तालहरु जोखिममा परेका छन् ।