
झापा । टर्किएका राष्ट्रपति रेचेप तैय्यप एर्दोगानकी पत्नी तथा प्रथम महिला एमीन एर्दोगानले अमेरिकी राष्ट्रपछि डोनाल्ड ट्रम्पकी पत्नी मेलानिया ट्रम्पलाई पत्र लेख्नुभएको छ । पत्रमा उहाँले मेलानियालाई इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग सम्पर्क गरी गाजाका बालबालिकाले भोग्नुपरेको अवस्थाको मुद्दा उठाउन आग्रह गर्नुभएको छ ।
एमीनले आफ्नो पत्रमा युक्रेनका बालबालिकाको भविष्यलाई लिएर मेलानियाले भ्लादिमिर पुटिनलाई पत्र लेखेपछि आफूलाई पनि पत्र लेख्ने प्रेरणा मिलेको उल्लेख गरेको बीबीसीले जनाएको छ ।
एमीनको पत्रमा युक्रेनी बालबालिकाका लागि मेलानियाले जुन संवेदनशीलता देखाउनुभएको थियो । गाजाका बालबालिकाका लागि पनि त्यसअनुरुपकै व्यवहार हुनेछ भन्ने विश्वास लिएको उल्लेख छ ।
तर टर्कीएको राष्ट्रपति कार्यालयबाट जारी गरिएको पत्रबारे ह्वाइट हाउसले अहिलेसम्म प्रतिक्रिया जनाएको छैन । संयुक्त राष्ट्रसङ्घले शुक्रवार गाजा शहर र आसपासका क्षेत्रमा अनिकालको औपचारिक घोषणा गरेको थियो ।
गाजामा पाँच वर्षमुनिका ३० प्रतिशत बालबालिका कुपोषित छन् । हरेक १० हजार मानिसमध्ये कम्तीमा दुई जनाको दैनिक भोकमरी वा कुपोषण र रोगका कारण ज्यान जाने गरेको छ ।
इजरायलले हमासविरुद्ध निरन्तर आक्रमण गरेपछि गाजामा महिनौँदेखि मानवीय अवस्था बिग्रँदै गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अनिकाल घोषणाको निन्दा गर्नुभएको छ ।