
काठमाडौं । उत्तर कोरियाले दुई नयाँ हवाई प्रतिरक्षा मिसाइल परीक्षण गरेको छ । परीक्षण गरिएका यी मिसाइलले ड्रोन र क्रुज मिसाइल जस्ता हवाई लक्ष्य नष्ट गर्न सक्षम रहेका उत्तर कोरियाको न्यूज एजेन्सीलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।
पछिल्लो परीक्षणलाई नेता किम जोङले प्रत्यक्ष अवलोकन गर्नुभएको छ । किमले अमेरिका–दक्षिण कोरिया संयुक्त सैन्य अभ्यासको आलोचना गर्दै आणविक हतियार भण्डार बढाउने बताउँदै आउनुभएको छ ।
यस्तै सुरक्षा क्षेत्रका विज्ञले उत्तर कोरिया र रूसबीच मिसाइल प्रविधि आदानप्रदान भइरहेको आशङ्का गर्दै आएका छन् । उत्तर कोरियाले आफ्नो मिसाइल परीक्षण तीब्र पारिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युंगबीच वाशिङटनमा शिखर बैठकको तयारी समेत भइरहेको छ ।