
काठमाडौं । थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रामाथि दायर गरिएको राजद्रोहसम्बन्धी मुद्दा अदालतले खारेज गरेको छ । सिनावात्रामाथि झन्डै १० वर्षअघि दक्षिण कोरियाली समाचारपत्रलाई दिएको एक अन्तर्वार्तामा राजतन्त्रको अपमान गरेको आरोप लागेको बीबीसीले जनाएको छ । दोषी ठहर भएमा उहाँलाई १५ वर्षसम्मको जेल सजाय हुन सक्थ्यो ।
थाइल्याण्डको कडा राजद्रोह कानूनअनुसार राजा, रानी, युवराजविरुद्ध अपमानजनक भनाइ गर्नु अपराध मानिन्छ । तर पछिल्ला वर्षहरूमा यो कानूनलाई कार्यकर्ता तथा विपक्षी पार्टीहरूलाई दमन गर्न प्रयोग गरिएको आरोप लाग्दै आएका छन् । अदालतले भने थाक्सिनले प्रत्यक्ष नाम नलिएको कारण अपराध नठहरिने निष्कर्ष निकालेको समाचारमा उल्लेख छ ।
यो फैसला थाक्सिनकी छोरी तथा निलम्बित प्रधानमन्त्री पेतोङ्तार्न सिनावात्रा विरुद्धको मुद्दा टुङ्गिनै लाग्दा आएको हो । अदालतको यो फैसला उहाँका समर्थकहरूका लागि सकारात्मक देखिए पनि थाक्सिनले अझै अरू मुद्दाहरूको सामना गर्नुपर्ने अवस्था आउन सक्ने खबरमा भनिएको छ ।