२०८२ भदौ ६, शुक्रवार , ११:३८:२४ बजे

Sajhamanch
'

शर्तसहित हमाससँग वार्ता गर्न सकिने इजरायलको सङ्केत

शुक्रवार, भदौ ६, २०८२

झापा । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासको कब्जामा रहेका बाँकी सबै बन्धकलाई मुक्त गर्न तत्काल वार्ता शुरु गर्न निर्देशन दिनुभएको छ । नेतन्याहुले हिजो इजरायली सैनिकहरूलाई सम्बोधन गर्दै क्याबिनेटले गाजा सिटी नियन्त्रणमा लिन ठूलो आक्रमणको योजना पनि स्वीकृत गरिसकेको जानकारी दिनुभयो ।

कतार र इजिप्टको मध्यस्थतामा हमासले हालै ६० दिने युद्धविराम प्रस्ताव स्वीकार गरे पनि नेतान्याहुले त्यसलाई अस्वीकार गर्दै इजरायल सबै बन्धक एकै पटक मुक्त भएपछि मात्रै सम्झौता सम्भव हुने बताउनुभएको बीबीसीले जनाएको छ ।

इजरायली अधिकारीका अनुसार वार्ताका लागि ठाउँ निश्चित भएपछि वार्ताकारहरू पठाइने तयारी भइरहेको छ । तर नेतन्याहुले युद्ध अन्त्यको लागि हमासको निशस्त्रीकरण, सीमामा इजरायली नियन्त्रण र गैर–हमास प्रशासन स्थापना हुनुपर्ने शर्त राख्नुभएको छ ।

यसैबीच गाजा सिटीका पूर्वी क्षेत्रमा हिजो पनि ठूलो बमबारी भएको छ । इजरायली सेना (आईडीएफ) ले झन्डै १० लाख मानिसलाई दक्षिणतर्फ सार्नको लागि तयारी गर्न चेतावनी दिएको छ । तर गाजाको स्वास्थ्य मन्त्रालयले यस्तो कदमले स्वास्थ्य प्रणालीलाई ध्वस्त पार्ने भन्दै अस्वीकार गरेको छ ।

सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि इजरायलले गाजामा सैन्य अभियान शुरु गरेको हो । त्यस आक्रमणमा १२ को ज्यान गएको थियो भने २५१ जनालाई बन्धक बनाइएको थियो । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा अहिलेसम्म ६२ हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ ।

सम्बन्धित खबर