
झापा । नेदरल्यान्ड्सले आउँदो डिसेम्बर १ देखि पोल्यान्डमा झन्डै ३ सय सैनिकसहित २ प्याट्रियट प्रणाली, १ नासामस प्रणाली र एन्टी–ड्रोन क्षमता भएको उन्नत हवाई रक्षा प्रणाली तैनाथ गर्ने घोषणा गरेको छ ।
यो तैनाथीले पोल्यान्डमा रहेको युक्रेनका लागि नेटो सुरक्षा सहायता र प्रशिक्षण (एनएसएटीयू) केन्द्रलाई सुरक्षित गर्ने नेदरल्यान्ड्सको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था एएनआईले जनाएको छ । यो केन्द्रमार्फत युक्रेनलाई सैन्य उपकरण आपूर्ति गर्न सहज हुने मन्त्रालयले जनाएको छ ।
नेदरल्यान्ड्सका रक्षामन्त्री रुबेन ब्रेकलमन्सले यस तैनाथीले नेटो क्षेत्रको सुरक्षा, रुसी आक्रमणलाई रोकथाम र युक्रेनलाई निरन्तर समर्थनमा सहयोग पुर्याउने बताउनुभएको छ । यो तैनाथी सन् २०२५ डिसेम्बर १ देखि शुरू भएर सन् २०२६ जुन १ सम्म रहने मन्त्रालयले जनाएको छ ।
केही दिनअघि मात्र युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ह्वाइट हाउसमा भेट गर्नुभएको थियो । त्यस अवसरमा धेरै युरोपेली नेताहरू पनि सहभागी भएका थिए ।
नेताहरूले रुस–युक्रेन युद्ध समाधान गर्ने प्रयाससँगै युक्रेनलाई युद्धपछिको सुरक्षा ग्यारेन्टी दिने विषयमा युरोपेली राष्ट्रहरूको भूमिकामा ध्यान केन्द्रित गरेका थिए ।