
कञ्चनपुर । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरले गत आर्थिक वर्षमा तीन हजार ९०० मिटर सिचाँइ कुलो निर्माण गरेको छ ।
कार्यालयले जिल्लामा ठेक्का र उपभोक्ता समितिमार्फत कुलो निर्माण गरेको डिभिजन प्रमुख महादेव विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार ठेक्कामार्फत शुक्लाफाँटा नगरपालिका–८ र बेदकोट नगरपालिका–७ र ८ मा दुई हजार ८७५ मिटर कुलो निर्माण गरेको हो । साथै उपभोक्ता समितिमार्फत एक हजार २७ मिटर कुलो निर्माण गरिएको छ ।
‘गत आवमा सम्पन्न कुलोबाट ७५ हेक्टर खेतीयोग्य जग्गामा सिँचाइ सुविधा उपलब्ध भएको छ, २८७ मिटरमा मुहान संरक्षण र तीन वटा पोखरी निर्माण गरिएको छ’, प्रमुख विष्टले भनन्ुभयो । उहाँले तटबन्धमार्फत आठ हेक्टर जग्गा संरक्षण गरिएको समेत बताउनु भयो।
उशाँले एक हजार १२४ मिटर ठेक्का र चार हजार ८६८ मिटर तटबन्ध उपभोक्ता समितिमार्फत निर्माण गरिएको बताउनु भयो । ‘यहाँको चौधर र पथरीया नदी नियन्त्रणका लागि तटबन्ध निर्माण गरेका छौँ, गत आवमा कार्यालयले सिँचाइ संरचना र तटबन्ध निर्माणमा ९५ प्रतिशत भौतिक प्रगति गरेको छ’, उहाँले भन्नुभयो ।
उहाँका अनुसार तटबन्ध तथा बाँध निर्माणमा १२ करोड १४ लाख ८२ हजार खर्च भएको छ । साथै सिँचाइ संरचना निर्माणमा दुई करोड ६३ लाख २० हजार खर्च भएको छ ।