
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भ्लोदिमीर जेलेन्स्कीबीच वासिङटनमा भेटवार्ता भएको छ । युरोपेली नेताहरुसहित अमेरिका पुगेका जेलेन्स्कीले राष्ट्रपति ट्रम्पसँगको भेटलाई उपलब्धीमुलक भन्नुभएको बीबीसीले जनाएको छ ।
ह्वाइट हाउसमा भएको वार्तापछि पत्रकारहरूसँग कुरा गर्दै उहाँले छलफलबाट सकारात्मक परिणाम हासिल भएको प्रतिक्रिया दिनुभयो । उहाँले यसअघि जस्तो कुनै वादविवाद नभएको र बैठक सकारात्मक रहेको बताउनुभयो ।
भेटका क्रममा ट्रम्पलाई आफूले युद्धमैदानको नक्सा देखाउँदै कुन क्षेत्रमा कसको नियन्त्रण छ भन्नेबारे प्रष्ट पारेको पनि राष्ट्रपति जेलेन्स्कीको भनाई छ । युक्रेनी नेताहरुले पनि अमेरिका लगायत देशहरुले सुरक्षाको ग्यारेन्टी दिने विश्वास व्यक्त गरेका छन् ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीबीचको भेट दुई हप्ताभित्र हुने बताउनुभएको छ ।
जर्मन चान्सलर फ्रिडरिख मर्जले ट्रम्पको यो भनाइलाई पुष्टि गर्दै शान्ति प्रक्रियाको लागि सकारात्मक सङ्केत भएको टिप्पणी गर्नुभयो । ट्रम्पले युक्रेनका लागि दिएको सुरक्षा ग्यारेन्टीसम्बन्धी घोषणालाई युरोपेली नेताहरुले स्वागत गर्दै यो युरोप र युक्रेन दुवैका लागि महत्त्वपूर्ण कदम भएको बताएका छन् ।