
झापा । अस्ट्रेलियाको सङ्घीय अदालतले क्वान्टास एअरलाइन्सलाई ५ करोड ९० लाख अमेरिकी डलर अर्थात् ८ अर्ब २४ करोड रुपैयाँभन्दा धेरै जरीवाना गरेको छ ।
कोभिड–१९ महामारीको समयमा १ हजार ८०० जनाभन्दा धेरै ‘ग्राउन्ड स्टाफ’ अर्थात् विमानस्थल मैदानमा कार्यरत कामदारहरूलाई गैरकानूनी रूपमा बर्खास्त गरेकोमा अदालतले क्वान्टास एअरलाइन्सलाई जरीवाना गरेको बीबीसीले जनाएको छ ।
अस्ट्रेलियाली यातायात मजदूर सङ्घले अदालतको निर्णयको स्वागत गर्दै ‘फेअर वर्क’ ऐन अन्तर्गत अस्ट्रेलियाली कम्पनीमाथि लगाइएको यो अहिलेसम्मकै ठूलो जरीवाना भएको बताएको छ ।
सङ्घीय अदालतका न्यायाधीश माइकल लीले यो सजायले अन्य कम्पनीहरूका लागि उदाहरण स्थापित गर्ने बताउनुभएको छ ।
क्वान्टास एअरलाइन्स जरीवाना तिर्न सहमत भएको खबरमा उल्लेख छ । अदालतको निर्णयले कर्मचारीहरूलाई हानि पुर्याउने कार्यहरूका लािग जिम्मेवार ठहराएको कम्पनीको भनाइ छ ।
यसैबीच क्वान्टास समूहकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) भेनेसा हडसनले १ हजार ८२० जना ग्राउन्ड ह्यान्डलिङ कर्मचारी र उनीहरूका परिवारले भोग्नु परेको कठिनाइका लागि माफी माग्नुभएको छ ।