
झापा । अमेरिकी विदेश मन्त्रालयले गाजाबाट आउने मानिसहरूका लागि सबै आगन्तुक भिसा निलम्बन गर्ने घोषणा गरेको छ । पछिल्ला दिनहरूमा अस्थायी उपचार र मानवीय आधारमा निश्चित भिसा जारी गर्न आवश्यक प्रक्रियाहरूको गहन समीक्षा गर्न आगन्तुक भिसा निलम्बनको घोषणा गरेको मन्त्रालयले जनाएको छ ।
यो अमेरिकी निर्णयको केही प्यालेस्टिनी अधिकार समूहहरूले निन्दा गरेका बीबीसीले जनाएको छ । यो निर्णयले गाजाबाट घाइते र गम्भीर बिरामी बालबालिकाहरूलाई उपचारका लागि अमेरिका लैजाने आफूहरूको क्षमतामा गम्भीर असर पार्ने प्यालेस्टिनी बाल राहत कोषले विज्ञप्तिमार्फत भएको छ ।
अति दक्षिणपन्थी कार्यकर्ता लौरा लुमरले भिसा कार्यक्रमको आलोचना गर्दै सामाजिक सञ्जाल एक्समा कैयौैं पोस्ट गरेपछि मन्त्रालयको नीतिमा यस्तो परिवर्तन आएको खबरमा उल्लेख छ । उहाँले ट्रम्प प्रशासनलाई यसलाई बन्द गर्न आग्रह गर्नुभएको थियो ।
प्यालेस्टिनी बाल राहत कोषले आफ्नो विदेश उपचार कार्यक्रम अन्तर्गत सन् २०२४ मा गाजाबाट १६९ जना बालबालिकालाई बाहिर निकालेको बताएको छ । यी बालबालिकाहरूलाई उपचारका लागि मध्यपूर्व, युरोप, दक्षिण अफ्रिका र अमेरिका लगिएको थियो ।
सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेदेखि झन्डै दुई वर्षदेखि चलिरहेको युद्धमा गाजाका धेरैजसो अस्पतालहरू ध्वस्त भएका छन् । यहाँका मानिसहरूले खाद्यान्नको चरम अभाव सामना गरिरहेका छन् ।