२०८२ साउन २९, बिहिवार , ०५:२६:५४ बजे

Sajhamanch
'

एमसीसी अन्तर्गत थप १८० किलोमिटर प्रसारण लाइन निर्माणका लागि ठेक्का सम्झौता

बिहिवार, साउन २९, २०८२

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपाल परियोजना अन्तर्गत विद्युत् प्रसारण आयोजना अघि बढाउन दुई वटा प्रमुख सम्झौतामा हस्ताक्षर भएको छ ।

एमसीसीको स्थानीय निकाय मिलेनियम च्यालेन्च एकाउन्ट नेपाल (एमसीए–नेपाल) ले प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय बोलपत्र प्रक्रियामार्फत दुई वटा कम्पनीसँग ठेक्का सम्झौता गरेको हो ।

रातमाटे–नयाँ दमौली प्रसारण लाइन निर्माणका लागि एञ्जेलिक–स्किपर संयुक्त उपक्रमसँग सम्झौता भएको छ । यस्तै नयाँ दमौली–नयाँ बुटवल प्रसारण लाइन निर्माणका लागि वाइबा–सलासर संयुक्त उपक्रमसँग सम्झौता भएको छ ।

यी सम्झौताअन्तर्गत १८० किलोमिटर लामो ४ सय केभी प्रसारण लाइनको डिजाइन, स्थापना, परीक्षण र सञ्चालन गरिनेछ । यसको कुल लागत १५ करोड ४५ लाख अमेरिकी डलर छ ।

अहिलेको विनिमय दर अनुसार यो २१ अर्ब ६३ करोड रुपैयाँ हुन आउँछ । ठेक्का ४२ महिनाको दिइएको छ । निर्माण कम्पनीहरूले तोकिएको समयभित्रै निर्माण गर्ने प्रतिबद्धता गरेका छन् ।

सम्झौतापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले ३१५ किलोमिटरको कुल प्रसारण लाइनमध्ये १८ किलोमिटरको गएको वर्ष नै सम्झौता भएको र बाँकी ११७ किलोमिटर प्रसारण लाइनको केही दिनमै सम्झौता गर्ने तयारी रहेको बताउनुभयो ।

सम्बन्धित खबर