
झापा । संयुक्त राष्ट्रसङ्घका अनुसन्धानकर्ताहरूले म्यानमारको सेना (जुन्ता) ले ‘व्यवस्थित’ यातना दिइरहेको बताएका छन् । सेनाद्वारा सञ्चालित हिरासत सुविधाहरूमा कुटपिट, बिजुलीको झड्का र सामूहिक बलात्कारसहित ‘व्यवस्थित’ यातना रेकर्ड गरेको राष्ट्रसङ्घको रिपोर्टलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।
सन् २०२१ को विद्रोहमा सेनाले नागरिक सरकारलाई अपदस्थ गरेपछि म्यान्मार गृहयुद्धको चपेटामा परेको छ । यहाँ सेनाले प्रजातन्त्र समर्थक गुरिल्ला र जातीय सशस्त्र समूहहरूसँग लडिरहेको छ ।
असिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स मोनिटर समूहका अनुसार लडाइँसँगै दमनकारी कारबाही भएको छ जसमा झन्डै ३० हजार जना पक्राउ परेका छन् ।
झन्डै ६ सय जना प्रत्यक्षदर्शीको बयानमा आधारित म्यान्मारका लागि राष्ट्रसङ्घको स्वतन्त्र अनुसन्धान संयन्त्र (आईआईएमएम) को एउटा प्रतिवेदनले ‘सोधपुछका क्रममा र हिरासत सुविधाहरूमा गम्भीर दुर्व्यवहार’ भएको पहिचान गरेको उल्लेख गरेको छ । ‘यौन दासत्व’, ‘चुरोट वा जलेका वस्तुहरूले यौन अङ्गहरू जलाउने’, र ‘चिम्टाले नङहरू निकाल्ने’ लगायत यातनाको ‘व्यवस्थित कार्यान्वयन’ भएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनले ‘२ देखि १७ वर्ष उमेरका बालबालिकाहरूलाई प्रायः आफ्ना आमाबाबुको प्रतिनिधिका रूपमा हिरासतमा राखिएको’ सङ्केत गर्ने प्रमाण पनि फेला पारेको छ । हिरासतमा लिइएका केही बालबालिकाहरू यातना, दुर्व्यवहार वा यौन तथा लैङ्गिक अपराधको शिकार भएका प्रतिवेदनमा भनिएको छ ।