
झापा । युक्रेनका राष्ट्रपति भोलोदिमिर जलेन्स्कीले डोनबास क्षेत्र रुसलाई दिन नसकिने बताउनुभएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच शुक्रवार अलास्कामा हुन लागेको भेटअघि युक्रेनी राष्ट्रपतिको प्रतिक्रिया आएको हो ।
ट्रम्पले अघिल्लो हप्ता जमिन साटासाट गर्न सकिने बताउनुभएको थियो । युक्रेनले डोनबासको बाँकी भाग दिनु पर्ने सर्त रुसले अघि सार्न सक्ने सम्भावना छ ।
डोनबासका लुहान्स्क र डोनेट्स्क क्षेत्रमा सन् २०१४ देखि सङ्घर्ष चलिरहेको छ र अहिले लुहान्स्कको धेरैजसो तथा डोनेट्स्कको झन्डै ७० प्रतिशत भाग रूसको कब्जामा छ ।
युक्रेनको संविधानअनुसार जनमत सङ्ग्रहविनाको सीमा परिवर्तन मान्य नहुने जलेन्स्कीको भनाइ छ । डोनबास क्षेत्रमार्फत रूसलाई फेरि ठूलो आक्रमणको तयारी गर्न सजिलो हुने उहाँले बताउनुभएको छ ।
राष्ट्रपति जेलेन्स्कीले रूसले जापोरिझ्झिया, पोख्रोभ्स्क र नोभोपालीभ क्षेत्रमा नयाँ आक्रमणको तयारी गरिरहेको बताएको बीबीसीले जनाएको छ । ट्रम्प–पुटिन भेटमा युक्रेनलाई सहभागी नगराइएकोमा जलेन्स्की असन्तुष्ट हुनुहुन्छ ।