२०८२ साउन १०, शनिवार , ०५:१५:१६ बजे

Sajhamanch
'

प्रादेशिक आयुर्वेद अस्पतालमा बालबालिकालाई स्वर्ण बिन्दु प्राशन

शुक्रवार, साउन ९, २०८२

कमल । झापाको कमल गाउँपालिका ७ लखनपुरस्थित प्रादेशिक आयुर्वेद अस्पतालमा बालबालिकालाई स्वर्ण बिन्दु प्राशन गराइएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको समुपस्थितिमा उक्त अभियानको सुरुवात गरिएको हो ।

बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि एवं सर्वाङ्गिण विकासको सुनिश्चितता गर्ने उद्देश्यले ६ महिनादेखि ७ वर्षसम्मका बालबालिकालाई स्वर्ण बिन्दु प्राशन गराइएकोे अस्पतालका मेडिकल सुपरिटेण्डेन डाक्टर सिद्धार्थ ठाकुरले जानकारी दिनुभयो ।

आयुर्वेदमा स्वर्ण बिन्दु प्राशन प्रत्येक महिनाको पुष्य नक्षत्रको दिनमा खुवाउनु भनिएकोले गत असार महिनाबाट खुवाउन सुरु गरिएको प्रादेशिक आयुर्वेद अस्पतालले जनाएको छ ।

प्रत्येक पुष्यमा स्वर्ण लिऔं, शारीरिक बौद्धिक बल बढाऔं भन्ने उद्घोषका साथ अस्पतालमा भएको स्वर्ण बिन्दु प्राशन अस्पतालकै प्राङ्गणमा गराइएको मेसु ठाकुरले बताउनुभयो ।

स्वर्ण बिन्दु प्राशन किन खुवाउने

बालबालिकामा बढ्दो उमेरका क्रममा विभिन्न शारीरिक, मानसिक विकासका अनेक चरणहरु भइरहेका हुन्छन् । सो उमेरमा शारीरिक एवं मानसिक रुपमा कोमल हुने बालबालिकाहरुमा विभिन्न रोगहरुको संक्रमणको सम्भावना रहन्छ । यही कारणले आयुर्वेदमा स्वर्ण बिन्दु प्राशनको महत्व दर्शाइएको छ ।

स्वर्ण बिन्दु प्राशन अन्तरगत स्वर्ण भष्मलाई विभिन्न औषधीहरुमा मिसाएर घिउ र महको साथमा बालबालिकाहरुलाई खुवाइन्छ ।

स्वर्ण बिन्दु प्राशनको फाइदा

रोग प्रतिरोधात्मक क्षमता वृद्धि, पाचनशक्ति बढाँउछ, समग्र स्वास्थ्य लाभ, मानसिकरुपमा स्फुर्त, शारीरिक तथा मानसिक विकास प्रवर्धन गराउने भएकोले हरेक बालबालिबालाई स्वर्ण बिन्दु प्राशन खुवाउनु पर्ने अस्पतालले जनाएको छ ।

सम्बन्धित खबर