२०८२ साउन ४, आइतवार , ०७:१३:२६ बजे

Sajhamanch
'

‘वर्ल्ड च्याम्पियनशिप अफ लेजेन्ड्स’ मा भारत र पाकिस्तानबीचको खेल रद्द

आइतवार, साउन ४, २०८२

काठमाडौं । बेलायतमा चलिरहेको ‘वर्ल्ड च्याम्पियनशिप अफ लेजेन्ड्स’ (डब्ल्यूसीएल) अन्तर्गत आज हुने तय भएको भारत र पाकिस्तानबीचको खेल रद्द भएको छ ।

आज राति सवा ९ बजे एजबेस्टनमा हुने तय भएको खेल दुई देशबीचको वर्तमान भूराजनीतिक अवस्था र विद्यमान तनावका कारणले शिखर धवन लगायत भारतीय खेलाडीहरूले भाग लिन अस्वीकार गरेपछि रद्द भएको हो । ‘डब्ल्यूसीएल’ ले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत भारत र पाकिस्तानबीचको खेल रद्द भएको जानकारी गराएको छ ।

गएको अप्रिलमा पहलगममा भएको आतङ्कवादी आक्रमणपछि भारत र पाकिस्तानबीच सीमापार तनाव सिर्जना भएको थियो जसले गर्दा ‘इन्डियन प्रिमियर लिग’ (आईपीएल) र ‘पाकिस्तान सुपर लिग’ (पीएसएल) अस्थायी रूपमा स्थगित गरिएको थियो । अप्रिल २२ मा पहलगाम आक्रमणपछि भारत र पाकिस्तानबीच सैन्य द्वन्द्व भएको थियो र ३ दिनको द्वन्द्वपछि मे १० मा दुई देशबीच युद्धविराम घोषणा भएको थियो ।

‘वर्ल्ड च्याम्पियनशिप अफ लेजेन्ड्स’ मा भारत र पाकिस्तानसहित अस्ट्रेलिया, इङ्गल्यान्ड, दक्षिण अफ्रिका र वेस्ट इन्डिज समावेश छन् । गएको शुक्रवारदेखि शुरू भएको प्रतियोगितामा अहिलेसम्म ३ वटा खेल भएका छन् ।

डब्ल्यूसीएलको यो दोस्रो सिजन हो । गएको वर्ष भएको पहिलो सिजनमा भारतीय च्याम्पियन्सले पाकिस्तान च्याम्पियन्सलाई ५ विकेटले हराएको थियो ।