२०८२ साउन ४, आइतवार , ०३:१७:३४ बजे

Sajhamanch
'

पारस खड्का आईसीसीको वार्षिक सम्मेलनमा : नेपाली क्रिकेट र एनपीएलबारे चर्चा

आइतवार, साउन ४, २०८२

काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान एवम् नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को वार्षिक सम्मेलनमा नेपाली क्रिकेटबारे चर्चा गरेका छन् ।

सिङ्गापुरमा भएको आईसीसीको वार्षिक सम्मेलनमा सचिव खड्काले नेपाली क्रिकेट र नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटको बारेमा चर्चा गरेका हुन् । उनले सम्मेलनमा नेपाली क्रिकेटको उपलब्धि, आउँदो दशकको योजना प्रस्तुत गरे ।

खड्काले अन्तर्राष्ट्रियस्तरमा नेपालले प्राप्त गरेका सफलतासँगै महिला क्रिकेटको प्राथमिकता, संरचनागत सुधारबारे पनि चर्चा गरे । उनले नेपाल अब ठूलो प्रतियोगिताका लागि तयार भएको बताएका छन् ।

सम्मेलनमा सचिव खड्काले नेपाली क्रिकेटले डिभिजन ५ देखि एकदिवसीय मान्यतासम्म आइपुग्न दुई दशकमा निकै सङ्घर्ष गरेको र अब छिट्टै टेस्ट राष्ट्र बन्ने विश्वास पनि व्यक्त गरे ।

क्यानको तर्फबाट गएको वर्ष सञ्चालन भएको एनपीएललाई उनले अन्तर्राष्ट्रियस्तरमै ध्यान खिचेको उल्लेख गरे । एनपीएलमा भारतका शिखर धवन र न्युजिल्यान्डका जिमी निसम लगायत खेलाडीलाई ल्याउनु सफलता भएको सचिव खड्काको भनाइ थियो ।