२०८२ साउन ३, शनिवार , ०१:१०:१७ बजे

Sajhamanch
'

गत आर्थिक वर्षमा सवारी दुर्घटनाबाट झापामा ९५ जनाको मृत्यु, १२९६ वटा सवारी दुर्घटना

शनिवार, साउन ३, २०८२

झापा । झापामा गत आर्थिक वर्ष २०८१/०८२ मा सवारी दुर्घटनामा परेर ९५ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

सो अवधिमा १ हजार २९६ सवारी दुर्घटना हुँदा १ हजार ९३४ जना सामान्य घाइते, १३९ जना गम्भीर घाइते र ९५ जनाको मृत्यु भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलका अनुसार एक वर्षको अवधिमा ५२ हजार ८७५ जना सवारी चालकलाई कारबाही गरिएको छ । उक्त कारबाहीबाट तीन करोड ९५ लाख ५५ हजार ५६० रुपयाँ राजस्व संकलन भएको उहाँको भनाई छ ।

यस्तै मादक पदार्थ सेवन (मापसे) अन्तर्गत तीन हजार १७४ जना कारवाहीमा परेका छन् । जसबाट १८ लाख रुपैयाँभन्दा बढी जरिवाना सङ्कलन गरिएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिनुभयो ।

जिल्लाभर ट्राफिक सचेतनामूलक कार्यक्रम अन्तर्गत विद्यालय तहका आठ हजार ४६१ विद्यार्थीहरूलाई ट्राफिक नियमसम्बन्धी कक्षा दिइएको छ भने १ हजार २५० जनालाई मापसे सचेतना प्रशिक्षण प्रदान गरिएको ट्राफिक प्रहरी निरीक्षक पौडेलको भनाई छ ।

यसैबीच, ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउँदै जिल्लामा ट्राफिक भ्वाइलेशन रिकार्ड प्रणाली (टिभिआरयस) र अनलाइन जरिवाना तिर्ने प्रणाली लागू गरिएको उहाँले जानकारी दिनुभएको छ ।

गत आर्थिक वर्ष २०८१/०८२ मा कार्यालयले सवारी नियमनका लागि ७० थान रिफ्लेक्टर बेल्ट, ३० ट्राफिक साइन बोर्ड, ४ म्याजिक लाइट, ३ ब्रीथलाइजर, ७ कम्प्युटर, १ गोप्रो क्यामेरा र १ ल्यापटप प्रयोगमा ल्याएको जनाइएको छ ।

ट्राफिक सुधार अभियानमा विभिन्न स्थानीय तह, विद्यालय, अस्पताल, सञ्चार संस्था र सामुदायिक केन्द्रसमेतको सहकार्य गरिएको प्रहरी निरीक्षक पौडेलले बताउनु भयो ।

कक्षा ६ देखि १० सम्मका विद्यार्थी, अटो÷सिटी चालक, तथा समाजका अन्य पक्षलाई लक्षित गरी गरिएको कार्यक्रमले सडक सुरक्षामा साझा प्रयासको सन्देश दिएको उहाँको भनाइ छ ।

सम्बन्धित खबर