
काठमाडौं । गृहमन्त्री रमेश लेखकले देशमा शान्ति सुरक्षाको समग्र अवस्था ठीक रहेको बताउनुभएको छ । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उहाँले गृह मन्त्रालय शान्ति सुरक्षालाई सुनिश्चित गर्ने काममा र नागरिकको जीउधनको रक्षा गर्ने काममा प्रतिबद्ध रहेको बताउनुभयो ।
अपराधको न्यूनीकरण, नियन्त्रण र अपराध भइहाले त्यसमा उचित अनुसन्धान गरेर अपराधीलाई कानून बमोजिम सजाय गर्ने काममा पनि गृह प्रशासनले निरन्तर काम गरिरहेको गृहमन्त्री लेखकको भनाइ छ । साथै उहाँले आपराधिक कार्य गरेर फरार भएकाहरू पनि पक्राउ परिरहेका बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘देशको समग्र शान्ति सुरक्षाको अवस्था ठीक छ । गृह मन्त्रालयको पहिलो जिम्मेवारी भनेकै देशमा शान्ति सुरक्षा सुनिश्चित गर्ने हो । नागरिकको जीउधनको सुरक्षा गर्ने हाम्रो पहिलो जिम्मेवारी हो । देशमा सुशासन स्थापना गर्ने, संविधान र कानूनको कार्यान्वयन गर्नेरगराउनेलगायत विपद् व्यवस्थापनको काम गृह मन्त्रालयका निरन्तर काम हुन् । त्यो हामीले गरिरहेका छौँ । शान्ति सुरक्षाको स्थिति अहिले अनुकूल छ । एक वर्ष पहिलाको स्थिति हेर्ने हो भने शान्ति सुरक्षा राम्रो छ ।’
गृहमन्त्री लेखकले लागूऔषध न्यूनीकरण, नियन्त्रण, निषेध गर्ने कुरामा सबै मिलेर लाग्नुपर्नेमा जोड दिनुभयो ।