
काठमाडौं । सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा हुने ओलम्पिक खेलमा क्रिकेट प्रतियोगिताको मिति र ठाउँ सार्वजनिक भएको छ ।
ओलम्पिकमा १२८ वर्षपछि फर्किने पक्का भएको क्रिकेट प्रतियोगिताको मिति र ठाउँ अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आज सार्वजनिक गरेको हो ।
टी–२० फर्म्याटमा हुने प्रतियोगिताको पुरुष र महिला दुवैतर्फका खेल २०२८ जुलाई १२ देखि जुलाई २९ सम्म हुनेछन् । पदक खेल अर्थात् महिलाको फाइनल जुलाई २० र पुरुषको जुलाई २९ मा हुने आईसीसीले जनाएको छ ।
सबै खेलहरू लस एन्जलस शहरबाट झन्डै ५० किलोमिटर टाढा रहेको पोमोना फेयरप्लेक्समा आयोजना हुनेछ । धेरैजसो दिन २ वटा खेल हुनेछन् जसमा स्थानीय समय अनुसार बिहान ९ बजे र बेलुकी साढे ६ बजे खेल हुनेछन् ।
प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ ६–६ वटा टोली रहनेछन् । हरेक टोलीमा १५ खेलाडी रहने गरी ९० जनाको कोटा तोकिएको छ । ओलम्पिकमा सहभागी हुने ६ वटा टोलीको छनोट प्रक्रिया भने टुङ्गो लागिसकेको छैन ।
यसअघि सन् १९०० मा फ्रान्समा भएको ओलम्पिकमा क्रिकेट प्रतियोगिता समावेश भएको थियो । त्यति बेला फ्रान्सलाई हराउँदै ग्रेट ब्रिटेनले स्वर्ण पदक जितेको थियो ।