२०८२ असार ३१, मङ्गलवार , १०:५६:२२ बजे

Sajhamanch
'

बिपी राजमार्ग पुन: सञ्चालन

मङ्गलवार, असार ३१, २०८२

काभ्रेपलाञ्चोक । अविरल वर्षासँग आएको बाढी र पहिरोले अवरुद्ध भएको बिपी राजमार्ग सञ्चालनमा आएको छ ।

राजमार्गका ८ ठाउँमा आएको बाढी र पहिरो हटाएर सडक सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख ईश्वर कार्कीले जानकारी दिनुभयो ।

सोमबार राति आएको वर्षाका कारण रोशी-९ पिन्थलीबेशी, मंगलटार बिरुवाडाँडामा रहेको फेदीखेला र साङखोला, रोशी-११ कालढुंगा, रोशीकै ११ र १२ को सिमानाको माम्ती खोलामा आएको लेदो हटाएर सडक सञ्चालन गरिएको हो ।

सडक विभाग र निर्माण कम्पनी एवन निर्माण सेवाको सहयोगमा राजमार्ग खुलाइएको कार्कीले जानकारी दिनुभयो ।

त्यस्तै रोशीकै पिप्लेमा आएको पहिरो, पानीतारे नजिक झरेको पहिरो पनि हटाइएको छ । काभ्रे र सिन्धुलीको सिमाना बर्खेखोलामा आएको बढीले बिगारेको सडक पनि मर्मत गरिएको छ ।

राजमार्ग सोमबार राति ८ बजेदेखि अवरुद्ध भएको थियो । दैनिकै जसो सडक अवरुद्ध हुन थालेपछि यात्रुले सास्ती भोगेका छन् । यसअघि पनि बीपी राजमार्ग अन्तर्गत विभिन्न ठाउँमा सडक अवरुद्ध भइरहेको छ ।

सडक अवरुद्ध भएपछि सुरक्षाका लागि काभ्रे र सिन्धुली प्रहरीले सवारी साधन होल्ड गरेको थियो ।

सम्बन्धित खबर