
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेकामध्ये अहिलेसम्म ११ जनाको शव भेटिएको छ । सरकारले आज आइतवारसम्म ११ जनाको शव फेला परेको जानकारी दिएको हो ।
राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले अहिलेसम्म ११ जनाको शव भेटिएको र तीमध्ये कुनै मानव अङ्गमात्रै पनि फेला परेको बताउनुभयो ।
गएको मङ्गलवार बिहान आएको बाढीमा परेका अझै १७ जना बेपत्ता छन् । एक जना घाइते भएका छन् । खोज तथा उद्धारका लागि एक हजार ९५० जना सुरक्षाकर्मी परिचालन भएका छन् ।
बाढीपछि ७४९ जनाको स्थल तथा दुई सय जनाको हवाई उद्धार भएको छ । बाढीले ४७ वटा विद्युतीय गाडी, २३ वटा कार्गो सेन्टर कन्टेनर ट्रक र ६ वटा ठूला गाडी बगाएको छ । त्यस्तै दुई वटा पुल पूर्णरूपमा क्षति भएको छ ।
स्याँफ्रुबेसीबाट टिमुरेसम्मको १६ किलोमिटर सडकको धेरै ठाउँमा क्षति पुगेको छ । यो सडक खण्डमा ठाउँठाउँमा गरेर एक हजार दुई सय मिटर सडक पूर्णरूपमा क्षति भएको कार्यकारी प्रमुख भट्टले बताउनुभयो । बाढीले पुल बगाएसँगै रसुवा–चीन आवतजावत पूर्णरूपमा बन्द भएको छ ।