२०८२ असार २६, बिहिवार , ०८:०६:०३ बजे

Sajhamanch
'

माओवादी केन्द्र र नेसपाबीच एकता महाधिवेशन गर्ने समझदारी

बिहिवार, असार २६, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्र र महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) बीच एकता महाधिवेशन गर्ने समझदारी भएको छ ।

माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग अभियान सकेपछि केन्द्रीय समिति बैठकबाट महाधिवेशनको मिति तोक्ने र त्यतिबेला नेसपासँग एकता गर्ने समझदारी भएको हो ।

नेसपाका अध्यक्ष यादवले माओवादी केन्द्रसँग एकता महाधिवेशन गर्ने समझदारी भएको बताए । माओवादीसँग पार्टी एकता गर्न सकारात्मक रहेको बताउँदै उनले भने, ‘यसै वर्ष माओवादीको महाधिवेशन गर्दा एउटै पार्टी बनाउने समझदारी भएको छ ।’

माओवादी र नेसपाबीच २०८० जेठ ३ गते पार्टी एकता गर्ने लिखित सहमति भएको थियो । तर एकताका लागि यादवले तत्परता नदेखाएको भन्दै तत्कालीन पार्टी एकता कार्यदलका सदस्य गंगानारायण श्रेष्ठ अघि बढेर गत १२ जेठमा माओवादी केन्द्रसँग एकता घोषणा गरेका थिए । त्यतिबेला अध्यक्ष यादवले श्रेष्ठ माओवादी प्रवेश गरेको तर पार्टी एकता नभएको बताएका थिए ।

उनले माओवादी केन्द्र नाम परिवर्तन गरेर ‘कम्युनिस्ट पार्टी समाजवादी’ हुनुपर्ने धारणा राख्दै आएका छन् । यद्यपि महाधिवेशनले जे निर्णय गरे पनि त्यसलाई स्वीकार्ने यादवको भनाइ छ ।

अध्यक्ष यादवले भनेका छन्, ‘हामीले राखेको प्रस्ताव पदाधिकारीको बैठकबाट माओवादी केन्द्र हटाइयो भने एकता हुन्छ । बैठकले कम्युनिस्ट पार्टी समाजवादी बनाइनेछ भन्ने लेखेपछि हुन्छ । महाधिवेशनले के फैसला गर्छ हेरौं । हाम्रो पार्टी एकता हुन्छ । सम्मानजनक हुन्छ । र, एकताको महाधिवेशन नै हुन्छ ।’

सम्बन्धित खबर