२०८२ असार २४, मङ्गलवार , ०१:०१:०७ बजे

Sajhamanch
'

रतुवामाइमा ६० वर्षीय महिलाको हत्या, २ दिनपछि देवर पक्राउ

मङ्गलवार, असार २४, २०८२

विराटनगर । मोरङमा महिलाको हत्या आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

रतुवामाई नगरपालिका–६ का गणेशबहादुर बस्नेतकी पत्नी ६० वर्षीया टीकामाया कार्की बस्नेतको हत्या आरोपमा ६९ वर्षीय टंकबहादुर बस्नेत पक्राउ परेका हुन् । प्रहरीका अनुसाार टंक र मृतक महिला देवर-भाउजु हुन् ।

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार आफ्नै बारीमा घाँस काट्न गएका बेला हत्या गरेर फालेको अवस्थामा २१ असारमा टीकामायाको शव फेला परेको थियो । शवको परीक्षण गर्दा मृतकको टाउको पछाडि घुच्चुकमा चोट देखिएको थियो ।

अनुसन्धानका क्रममा दाजु–भाइबीचको अंश विवादमा देवरले भाउजूको हत्या गरेको खुलेको प्रहरीको भनाइ छ ।

गणेश र उनका भाइ टंकबीच लामो समयदेखि अंश विवाद थियो । पुर्खौली सम्पत्ति भाइले एकलौटी बनाउन खोजेपछि दाजुभाइबीचको अंश विवाद अदालतसम्म पुगेको थियो । प्रहरीका अनुसार गणेश जेठी र टंक कान्छी आमाका छोरा हुन् ।

अंश विवादको रिसइबी साँधेर बसेका टंकले हँसियाको बिँडले प्रहार गरेर भाउजू टीकामायाको हत्या गरेको प्रहरीको दाबी छ । प्रहरीले टंकलाई सोमबार दिउँसो घरबाटै पक्राउ गरेर कर्तव्य ज्यान मुद्दा चलाउने तयारी गरेको छ ।