२०८२ असार २४, मङ्गलवार , १२:३५:१५ बजे

Sajhamanch
'

रसुवा बाढी : खोज तथा उद्धारको काम हुँदै, पानीको सतह घटे पनि त्रिशूली नदी किनारमा सतर्कता अपनाउन आग्रह

मङ्गलवार, असार २४, २०८२

काठमाडौं । रसुवामा बाढीमा परी हराइरहेका १८ जनाको खोजी भइरहेको छ । बिहान ३ बजेतिर नेपाल–चीनको सिमानामा रहेको ल्हेन्दे खोलामा आएको बाढीका कारण १८ जना सम्पर्कविहीन भएका हुन् ।

हराउनेमा छ जना नेपाली कामदार, छ जना चिनियाँ कामदार, तीन जना प्रहरी र तीन जना गाडी चालक रहेका जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

एकजना नेपाल प्रहरी र एकजना सशस्त्र प्रहरीका जवान तथा सात जना स्थानीयबासिन्दाको भने सकुशल उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएकोे छ । गृह मन्त्रालयका अनुसार खोज तथा उद्धारको लागि हेलिकोप्टर परिचालन गरिएको छ ।

बाढीले नेपाल–चीन नाका जोड्ने मितेरी पुल बगाएर पूर्ण रूपमा क्षति पुगेको छ । प्रहरीका अनुसार विद्युतीय गाडी चार्जिङ स्टेशनमा क्षति पुगेको र आठ वटा विद्युतीय गाडी बगाएको छ । यसैगरी रसुवागढी हाड्रोपावरमा समेत क्षति पुगेको छ ।

गोसाइकुण्ड गाउँपालिकामा पर्ने पासाङल्हामु सडकखण्डको धुन्चेदेखि टिमुरेसम्मको बाटो बाढीका कारण बन्द भएको रसुवा प्रहरीले जनाएको छ । रसुवामा आएको बाढीले त्रिशूली नदीको बहाव बढ्दा त्यसको प्रभाव नुवाकोट र धादिङसम्म पुगेको छ । बिहान नुवाकोटको विदुर नगरपालिकामा त्रिशूली नदीमा फसेका दुई जनालाई नेपाली सेनाको हेलिकोप्टरले सकुशल उद्धार गरेको छ ।

धादिङ प्रशासनले त्रिशूली नदी किनारमा सावधानी अपनाउन आग्रह गरेको छ । अहिले नदीमा पानीको सतह घट्दो क्रममा रहे पनि सम्भावित जोखिमलाई ध्यानमा राखी त्रिशूली नदीको रसुवागढीदेखि धादिङको बेनिघाटसम्म नदी तटीय क्षेत्रमा सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाका अनुसार तिब्बत क्षेत्रमा परेको वर्षाले ल्हेन्दे खोला, भोटेकोशी हुँदै त्रिशूली नदीसम्म बाढी आएको हो ।

सम्बन्धित खबर